
बैतडी । स्थानीय तह निर्वाचन २०७९ का लागि बैतडीमा म्यादी प्रहरी भर्ना प्रक्रिया आजदेखि सुरू भएको छ । भर्ना प्रक्रिया अगाडि बढाउन आजदेखि चैत ११ गतेसम्म दरखास्त लिइने जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।
बैतडीका लागि मात्र ८१४ जना म्यादी प्रहरी भर्ना गर्नुपर्ने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । दरखास्त दिएकाहरुको छनोट प्रक्रिया १५ चैतदेखि प्रारम्भ हुने, नतिजा प्रकाशन २२ चैतसम्म गरिने र २८ गतेदेखि प्रशिक्षण सुरू गरिने जनाइएको छ ।
छनोटका मापदण्डसमेत निर्धारण गरिएको छ । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका कुनै पनि नेपाली नागरिकले दर्खास्त दिन सक्नेछन । छनोटमा पूर्व नेपाली सेना, प्रहरी तथा विगतमा पनि म्यादी प्रहरीको अनुभव बटुलेकाहरूलाई प्राथमिकतामा राखिने जनाइएको छ ।
छनोट भएका म्यादी प्रहरीले ४० दिन काम गर्न पाउनेछन् । ४० दिनसम्मको मासिक ३० हजार २४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ ।
भर्ना भएका म्यादी प्रहरीले दिनको ७५६ रुपैयाँका दरले तलब पाउँनेछन् । ४० दिनको ७ हजार रुपैयाँ रासन भत्ता, पोसाक भत्ता ६ हजार र एक हजार रुपैयाँ यातायात खर्च उपलब्ध गराइनेछ ।
आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैंछ ।
प्रतिक्रिया दिनुहोस्