
परासी । पश्चिम नवलपरासीमा म्यादी प्रहरीमा भर्ना हुनका लागि युवाहरुको भिड बढेको छ ।
भर्नाका लागि गाउँ गाउँबाट आएका युवाहरु बिहान ८ बजेदेखि नै जिल्ला प्रहरी कार्यालय अगाडी लाइनमा बसेका थिए । भर्ना हुनका लागि पुरुषसँगै महिलाहरुको सहभागिता पनि उल्लेखनीय देखिएको छ ।
७ स्थानीय तह रहेको जिल्लामा त्यहाँ खटाउन १ हजार २९ जना म्यादी प्रहरी भर्ना गर्न लागिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी उपरीक्षक (एसपी) मनोजकुमार यादवले जानकारी दिनुभयो ।
भर्ना प्रक्रिया अगाडि बढाउन आजदेखि चैत ११ गतेसम्म आवेदन दिन पाइने छ । दरखास्त दिएकाहरुको छनोट प्रक्रिया १५ चैतदेखि प्रारम्भ हुने, नतिजा प्रकाशन २२ चैतसम्म गरिने र २८ गतेदेखि प्रशिक्षण सुरू गरिने जनाइएको छ । छनोटपछि आधारभूत तालिम दिई निर्वाचनमा खटाइने प्रहरी उपरीक्षक यादवले बताउनुभयो ।
छनोट भएका म्यादी प्रहरीले ४० दिन काम गर्न पाउनेछन् । ४० दिनसम्मको मासिक ३० हजार २४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ । भर्ना भएका म्यादी प्रहरीले दिनको ७५६ रुपैयाँका दरले तलब पाउँनेछन् । ४० दिनको ७ हजार रुपैयाँ रासन भत्ता, पोसाक भत्ता ६ हजार र एक हजार रुपैयाँ यातायात खर्च उपलब्ध गराइनेछ ।
निर्वाचनका लागि जिल्लामा १ सय २१ मतदान स्थल र २ सय ८६ मतदान केन्द्र रहेको निर्वाचन कार्यालयका सूचना अधिकारी निश्चल मोक्तानले जानकारी दिनुभयो । स्थानीय निर्वाचनमा जिल्लामा कुल २ लाख ४५ हजार ८ सय ७३ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्