२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


आयातमा सतप्रतिशत मार्जिनले मर्कामा साना व्यवसायी


156
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशबाट वस्तु आयात गर्दा सतप्रतिशत मार्जिनको व्यवस्थाले साना व्यापारी मारमा परेको बताएका छन् ।

सरोकारवाला निकायहरुसँग छलफल समेत नगरी आयातमा सतप्रतिशत मार्जिनको व्यवस्था गरेकाले आयात गरिएको सामान भन्सारमा नै रोकिदा व्यापार धरासाही बन्न लागेको बताएका छन् ।

साना व्यवसायी तथा व्यापारीहरुले मौसम अनुसारका सामान ५ महिना अगाडि नै खरिदमा लगानी गरेको अहिलेसम्म पनि बजारमा सामान नआएकाले बैंकको ब्याज बढेर व्यवसायबाट भाग्नु पर्ने अवस्था आएको बताएका छन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले सामान आयातमा सतप्रतिशत मार्जिन व्यवस्थाले व्यापारीहरुलाई मानसिक तनाब बढाएको बताउनुभयो । उहाँले मार्जिन लागू हुनुभन्दा अगाडि अर्डर गरेर ल्याएका सामान समेत विभिन्न बहानामा तीन महिना देखि भन्सारमा नै रोकिएको बताउनुभयो ।

कटुवालले सरकारले मार्जिन व्यवस्था लागू गर्नु भन्दा अगाडि अर्डर गरेर खरिद गरिएको समान आयातको विषयमा अध्ययन बिना नीति लागू गरेकाले अहिले व्यवसायीहरुलाई मर्का परेको दाबी गर्नु भयो ।

उहाँले अहिले भन्सारमा सामान ल्याउने कन्टेनरको समेत भाडा बढेकाले बजारमा आउने समानको अत्याधिक मूल्यवृद्धि भएको बताउनुभयो । साना तथा मझौला व्यवसायीहरुको पहुँज नपुग्ने भएकाले सरकारले साना व्यवसायीहरुलाई उपेक्षा गरेको अध्यक्ष कटुवाले आरोप लगाउनुभयो ।

गर्मी मौसमको लागि पाँच महिना अगाडि खरिद गरेका सामान बजारमा आउनु पर्ने भए पनि भन्सार नाकामा समान रोकिएर बसेको तर सरकारले भन्सारमा सहजिकरण गर्ने काम नगरेको बताउनु भयो । चीन सरकारले अघोषित नाकाबन्दी गरेर दिन २ वटा कन्टेनर भन्सारबाट पठाउँदा तीन वर्षदेखि साना व्यवसायीहरु समस्या रहँदा सरकारको आँखा नपुगेको बताउनुभयो ।

त्यस्तै, काठमाडौंको महाबौद्धमा कपडा व्यापार गर्ने व्यापारी झविन्द्र जीसीले तीन महिना अगाडि गर्मी महिनाको सामान खरिद गरे पनि अहिलेसम्म भन्सारबाट सामान नआएको बताउनु भयो । उहाँले सरकारले सामान आयातमा ल्याएको सतप्रतिशत मार्जिनको नीतिले साना व्यवसायीलाई थप मारमा पारेको बताउनुभयो ।

सरकारको नीतिको कारण साना व्यापारी मर्कामा परेको अर्का व्यापारी कुलेन्द्र जीसीले बताउनुभयो । उहाँले अर्डर गरिएका समान भन्सारबाट सहज रुपमा पाँच महिनासम्म नआउँदा व्यापार नै ठप्प रहेको बताउनुभयो ।

व्यापारीहरुले पाँच महिना अगाडि अर्डर गरेको समान समयमा नै नआउँदा व्यापार गर्न समेत नपाएको बताएका छन् । बैंक कर्जाको व्याजदर वृद्धि, भाडा वृद्धि र सामानको मूल्य वृद्धिको कारण व्यापार गर्न नसक्ने अवस्था आएको उनीहरुको भनाई छ ।