
काठमाडौं । सिने पत्रकार एवं लेखक जीवन पराजुलीको पुस्तक ‘क्लोज अप’ सार्वजनिक भएको छ ।
नेपाली सिने जगत र चलचित्र उद्योगको विकास गर्न योगदान दिने ६१ पात्रका कथा र उनीहरुको योगदानलाई पुस्तकमा समेटिएको लेखक पराजुलीले बताउनुभयो । पुस्तकमा नेपाली सिने जगतमा नेतृत्वदायी भुमिकामा रहेर काम गरेका महिला, सिने नगरीमा अहिलेसम्म योगदान दिएका निर्देशक र कलाकारहरुको बारेमा तथ्यपरक रुपमा लेखिएको लेखक पराजुलीले बताउनुभयो ।
उहाँले पुस्तकमा नेपाली सिने क्षेत्रका विभिन्न कालखण्डका व्यक्तिहरुको बारेमा ५० वर्षे नेपाली सिनेमा क्षेत्रमा देखा परेका समस्या, सबल पक्ष र वर्तमान अवस्थालाई व्याख्यात्मकरुपमा विश्लेषण गर्नुभएको छ ।
लेखक पराजुलीले यो पुस्तकमा २०२६ सालदेखिको नेपाली चलचित्रको बारेमा विस्तृतरुपमा जानकारी मिल्ने बताउनुभयो । उहाँले नेपाली चलचित्र शुरु भएदेखिको चलचित्र क्षेत्रको नेतृत्व, मतभेद, शाही नेपाली चलचित्र संस्थानमा भएको मत मतान्तरका बारेमा पनि पुस्तकमा खुलाइएको बताउनुभयो ।
पराजुलीले नेपाली चलचित्र शुरु भएको बेलामा नेतृत्व गरेका यादव खरेल, स्व. चेतन कार्कीको बारेमा पनि पुस्तकमा विस्तृतमा समेटिएको पनि बताउनुभयो । लेखक पराजुलीले पुस्तकमा विशेष गरेर नेपाली सिने क्षेत्रका कलाकारहरुका चुनौति र सफलताको बारेमा पनि पुस्तकमा समावेश गरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्