
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभा नभएको बेलामा पनि राष्ट्रिय सभालाई भुमिकासहित चलाउने व्यवस्था गर्नुुपर्ने बताउनुभएको छ ।
अध्यक्ष तिमिल्सिनाले प्रतिनिधिसभा नभएको अवस्थामा पनि राष्ट्रियसभालाई सञ्चालन गर्न व्यवस्था गर्नुपर्ने बताउनुभएको हो । उहाँले विगतमा प्रतिनिधि सभा नहुँदा संसद बाहिरबाटै बजेट ल्याइएको उल्लेख गर्दै राष्ट्रियसभा भएको बेलामा राष्ट्रिय सभाबाट पनि बजेट पारीत गर्नुपर्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो । अध्यक्ष तिमिल्सिनाले प्रतिनिधि सभामा उत्पति भएर राष्ट्रिय सभामा आएका विधेयकको दुई महिनाभित्र निर्णय गरेर पठाउनुपर्ने व्यवस्था भएपनि प्रतिनिधि सभामा भने सो व्यवस्था नभएकाले २०७५ सालदेखिको विधेयकहरु प्रतिनिधि सभामा थन्किएको बताउनुभयो ।
अध्यक्ष तिमिल्सिनाले विधेयकको आवश्यकता र महत्वलाई हेरेर छिटोभन्दा छिटो पारीत गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले ऐन, नियमावली अथवा आवश्यकता अनुसार संविधान संशोधन गरेर भएपनि राष्ट्रिय सभालाई कामकाजी बनाउनुपर्ने बताउनुभयो । उहाँले यस सन्दर्भमा उपयुक्त समयमा विषयको उठान हुने र सम्बोधन पनि हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्