१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कांग्रेस केन्द्रीय कार्यालयमा नेबिसंघको प्रदर्शन


299
Shares

काठमाडौं । नेपाल विद्यार्थी संघको विधानको पूर्ण कार्यान्वयन गर्दै उमेर हदबन्दी हटाउनुपर्ने लगायतका माग राखेर नेपाल विद्यार्थी संघका कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् ।

आइतबार ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय विद्यार्थी नेता र कार्यकर्ताले प्रदर्शन गरेका हुन् ।उनीहरुले अझैसम्म पनि नेविसंघको महाधिवेशन नभएको भन्दै सबै उमेर समूहको प्रतिनिधित्व हुने गरी विधान बमोजिम यथासीघ्र तदर्थ समिति गठन गर्न माग गरेका छन् । उनीहरुले नेबिसंघको महाधिवेशन पनि छिटो गर्नुपर्ने भन्दै नाराबाजी गरेका छन् । कांग्रेसले ३२ वर्ष भन्दा माथि उमेर समूहकाले नेबिसंघको अध्यक्ष बन्न नपाउने निर्णय गरेको छ ।

प्रदर्शनमा सहभागी नेबिसंघका नेता मोतिलाल भण्डारीले पार्टी नेतृत्वले उमेर हदबन्दी राखेकाले त्यो अनुचित हदबन्दी हटाउनु पर्ने आफूहरुको माग भएको एमेज खबरसंग बताउनुभयो । भण्डारीले १० वर्षसम्म नेसिंघको महाधिवेशन नगर्ने अनि पार्टी नेतृत्वले अहिले आएर लामो समयसम्म नेबिसंघमा काम गरेकाहरुलाई पाखा लगाउन उमेरको हदबन्दी लगाउने, यो कहाँको न्यायसंगत भयो ? भन्दै प्रतिप्रश्न गर्नुभयो ।

कांग्रेस नेतृत्वले भातृसंस्थाहरुमा सिण्डिकेट लागू गर्न खोजेको आरोप प्रदर्शनमा उत्रेकाहरुको छ । सबै भातृ संस्थाहरुलाई विधानसम्मत तरीकाले अघि बढाउनु पर्ने स्वतन्त्र विद्यार्थी यूनियन (स्वबियू) को निर्वाचन हुनुपर्ने पनि आफूहरुको माग रहेको नेता भण्डारीको भनाई छ ।

ती माग पूरा गर्न भन्दै बिद्यार्थीहरुले कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलमार्फत पार्टी नेतृत्वलाई ज्ञापन पत्र बुझाएका छन् ।