
काठमाडौं । नेपाली कांग्रेसले संसदीय समिति बोर्ड गठनको गृहकार्य सुरु गरेको छ ।
स्थानीय तहको निर्वाचन नजिकिएसँगै कांग्रेसले उम्मेदवार टुंगो लगाउन बार्ड गठनको गृहकार्य थालेको हो । समिति गठनका लागि कांग्रेसले आगामी शुक्रबारका लागि केन्द्रीय समिति बैठक बोलाएको छ । कांग्रेस विधानअनुसार संसदीय समिति गठन गर्न ढिलाइ भइसकेको छ । निर्वाचन आयोगले बैशाख ११ र १२ मा उम्मेदवारी दर्ता गर्न समय दिएको छ ।
तर कांग्रेसले अहिलेसम्म उम्मेदवार तय गर्न समिति गठनसमेत गरेको छैन । कांग्रेस विधानको ३३ औँ बुँदामा कुनै पनि तहको प्रत्यक्ष उम्मेदवार मनोनयन दर्ता हुने मितिभन्दा एक महिना अघि अन्तिम निर्णय गरिसक्नुपर्ने उल्लेख छ ।
कांग्रेसले संघीय संसद, प्रदेश सभा र स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न विभिन्न तहमा संसदीय समिति गठन गर्ने व्यवस्था गरेको छ । प्रतिनिधि सभा क्षेत्र संसदीय समिति, जिल्ला संसदीय समिति, प्रदेश संसदीय समिति र केन्द्रीय संसदीय समिति गरी चार समिति छन्, जसले कांग्रेस उम्मेदवारलाई चुनावी टिकट दिन्छन् ।
सबै तहका संसदीय समितिले उम्मेदवारी सम्बन्धमा गरेको निर्णय सम्बन्धित तहको पार्टी कार्यसमितिबाट अनुमोदन गराउनुपर्ने र पार्टी केन्द्रले उम्मेदवारी पत्रमा हस्ताक्षर गर्ने पदाधिकारी तोक्न सक्ने व्यवस्था छ । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले चैतभित्रै उम्मेदवारको टुंगो लगाइने बताउनुभयो । उहाँले पार्टी विधानअनुसार नै विभिन्न तहका उम्मेदवार छिट्टै तय गरिने दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्