
काठमाडौं । बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल पश्चिम नेपालका जनतालाई वरदान सावित हुँदै गएको छ ।
अस्पतालले सेवा विस्तार गरेसँगै क्यान्सर अस्पताल खजुरामा उपचारका लागि आउने विरामीको चाप बढेको छ । क्यान्सरको उपचारका लागि भरतपुर क्यान्सर अस्पताल चितवन र वीर अस्पताल काठमाडौं पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।
खजुरामा ब्राकीथेरापी मेसिन जडान गरेर शल्यक्रियाको सेवा विस्तार गरेपछि चितवन र काठमाडौंबाट समेत विरामी आउन थालेको अस्पतालका मेडिकल फिजिसिष्ट डाक्टर तीर्थराज अधिकारीले जानकारी दिनुभयो ।
उहाँले पश्चिम क्षेत्रका विरामीले आफ्नै ठाउँमै सुलभ र गुणस्तरीय उपचार सेवा पाएको बताउनुभयो । तीन करोड बढीको ब्राकीथेरापी मेसिन जडान गरिएपछि खजुरामा देशभरबाटै बिरामी आउन सुरु गरेका छन् ।
अस्पतालमा ब्राकीथेरापी मेसिन जडान गरेपछि पाठेघरको मुखको क्यान्सरको शल्यक्रिया सुरु भएको छ । अस्पतालमा नयाँ प्रविधिको प्रयोग बढिरहेको अस्पतालका निर्देशक कृष्ण आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालमा डिपार्टमेन्टहरू थपिएका छन् । यहाँ आउने विरामीमध्ये ५० प्रतिशत क्यान्सर र ५० प्रतिशत अन्य रोगका छन् ।
प्रतिक्रिया दिनुहोस्