
गिरिजाप्रसाद कोइराला नेपाली राजनीतिमा सबैभन्दा बढी ताली र गाली पाएका नेता रहनुभयो । निर्भीक, निडर र अडानी नेताका छबी बनाउनु भएका उहाँलाई आमजनतासँग घुलमिल हुने शैलीले नै एक राजनेताका रूपमा स्थापित गराएको भन्दा अत्युक्ति नहोला । लामो समय नेपालको राजनीति आफ्नै वरिपरी घुमाउनुभएका पूर्वप्रधानमन्त्री कोइरालाको निधन भएको पनि बाह्र वर्ष भइसकेको छ । बिसं १९८१ असार १८ गते जन्मिएका कोइरालाको निधन भने ८५ वर्षको उमेरमा २०६६ साल चैत्र ७ गते भएको थियो ।
शुरुमा कम्युनिष्टप्रति असाध्यै घृणा गर्ने उहाँले बोलेको ‘माले, मसाले, मण्डले’ एकै हुन् भन्ने शब्दावली निकै चर्चित बन्यो । त्यसैका कारण उहाँप्रति नेपालका सबैजसो कम्युनिष्ट पार्टी र तिनका नेताले आगो ओकल्ने आलोचना गरे भने देशको विभिन्न स्थानमा पुग्दा भौतिक आक्रमण नै गरे । केही स्थानमा त बाल बाल बाँच्ने अवस्था आयो । २०४६ को जनआन्दोलनपछि मृत्युपर्यन्त २० वर्षे नेपाली राजनीति कोइरालाकै वरिपरी घुमिरह्यो । संवैधानिक राजतन्त्रको पक्षपाती नेपाली कांग्रेस लोकतान्त्रिक गणतन्त्र स्वीकार्ने स्थानमा पनि उहाँकै निर्णयका कारण पुग्यो ।
कोइरालाकै राजनीतिक रजगजका समयमा मुलुकमा संसदीय राजनीतिक व्यवस्था अन्त्य गर्ने उद्घोषका साथ थालिएको माओवादी हिंसात्मक द्वन्द्व अन्ततः उहाँकै आड, भरोसा र विश्वासमार्फत् शान्तिपूर्ण राजनीतिमा अवतरण हुन पुग्यो । कोइरालाको औंला समातेर मूल राजनीतिको राजमार्गमा आएको त्यही माओवादी र तिनका नेता प्रचण्डले जीवनको उत्तरार्धमा कोइरालालाई नराम्ररी धोका दिए ।
२०६२/०६३ को आन्दोलनपछि राजालाई शक्तिहीन बनाइएसँगै राष्ट्राध्यक्षको अधिकारसमेत प्रयोग गर्नुभएका कोइरालालाई मुलुकको पहिलो राष्ट्रपति बन्नबाट भने रोकियो । शुरुमा प्रचण्डलगायत माओवादी नेताले पहिलो राष्ट्रपति बनाउने भनेर कोइरालालाई आश्वासन दिएको भएपनि पछि भारतसमेतको दबाबमा प्रचण्ड आफ्नो बाचाबाट पछाडी हटे । र गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बनेर इतिहास लेखाउने उहाँको धोको त्यत्तिकै रह्यो ।
२०४६ सालमा बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि पाँच पटक मुलुकको प्रधानमन्त्री बन्नुभएका उहाँ २०४८ सालको आमनिर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याएलगत्तै पहिलो पटक सिंहदरबारको कुर्सीमा पुग्नुभएको थियो । पछिल्लो पटक भने २०६३ माघ १ देखि २०६५ साउन ८ सम्म राष्ट्राध्यक्षको समेत अधिकार प्रयोग गर्ने हैसियतमा रहनुभयो । २०५३ सालदेखि मृत्यु नहुँदासम्म उहाँ लगातार पार्टी सभापति रहनुभयो ।
राजनीतिको शिखरमा रहँदा कोइराला विवादको घेराबाट भने उम्कन सक्नुभएन । सत्तामा रहँदा भ्रष्टाचारका अनेकन काण्डको दोष बोक्नुपरेका उहाँले पार्टी नेतृत्वमा रहँदा संस्थापक नेता गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलाई पार्टीबाट बाहिरिन बाध्य बनाएको आरोप खेप्नुप¥यो । पार्टीभित्रको विवादमा आफ्नै बहुमतको सरकार भंग गरी मध्यावधिमा लगेर राजनीतिक अस्थिरता निम्त्याएको दोष पनि उहाँमाथि लाग्ने गरेको छ ।

यद्यपि, जीवनको उत्तरार्धमा माओवादी हिंसा अन्त्य गराई मुलुकमा शान्तिपूर्ण राजनीति बहाली गराउन महत्वपूर्ण भूमिका खेलेको जस उहाँलाई नै जान्छ । साथै आफ्नै दाजु बीपी कोइरालाले देखाएको संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको वैचारिक बाटो त्यागेर मुलुकमा राजतन्त्र अन्त्य गरी लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न निर्णायक कदम चालेको जस पनि उहाँलाई नै जान्छ ।
राजाको रिसले कम्युनिष्टको बुईं चढेर मुलुकलाई कम्युनिष्ट कित्तामा हुत्याएको भन्ने आरोप उहाँमाथि नलागेको भने होइन । सत्ता सञ्चालनमा पटक– पटक राजाले दिएको धोखाधडी, प्रजातन्त्रप्रति राजाहरुको कुदृष्टि, कांग्रेस सकाउन कम्युनिष्ट पाल्ने राजदरबारको शैली जस्ता कारणले कोइराला अन्ततः कम्युनिष्ट कित्तामा पुगेको भन्नेहरु पनि छन् ।
आजको यस आलेख नेपाली राजनीतिका तिनै मूर्धन्य व्यक्तित्व गिरिजाप्रसाद कोइराला ‘गिरिजाबाबु’ लाई दृश्य क्यामेरा चलाउन सिकाउन पाएको क्षणको सम्झनामा केन्द्रित छ । प्रसंग आजभन्दा करिब १८ वर्ष अगाडी २०६० सालतिरको हो । ढ्याक्कै मिति त मैले यकिन गर्न सकिन । म ईमेज च्यानलमा संवाददाताका रुपमा काम गर्दै थिएँ । नेपालमा निजी टेलिजिनहरुले समाचारसहितको आफ्नो सेवाको प्रसारण थालेको भर्खर भर्खरै थियो । त्यतिबेला निजी क्षेत्रमा ईमेज च्यानल, कान्तिपुर टेलिभिजन, च्यानल नेपाल र सरकारी टेलिभिजन नेपाल टेलिभिजन प्रसारणमा थिए ।
त्यस समय ठूला–ठूला काँधमा बोकेर दृष्य खिच्नुपर्ने क्यामेराको विकल्पमा भर्खर भर्खरै साना हाते क्यामेरा प्रयोगमा आउन थालेका थिए । ईमेज च्यानलले ‘वन म्यान रिपोर्टिङ’ को अवधारणा अनुसार हामी केहीलाई साना ह्याण्डी क्याम क्यामेरा चलाउन दिएको थियो । मलाई नेपाली कांग्रेसको समाचार संकलन गर्ने बीट अर्थात् जिम्मेवारी दिइएको थियो । त्यसैअनुसार सँधैझै कांग्रेसको गतिविधि नियाल्नु मेरो काम थियो । माघ महिना हुनुपर्छ कांग्रेसको केन्द्रीय समिति बैठक बोलाइएको थियो । गिरिजाबाबु सभापति हुनहुन्थ्यो । पार्टी कार्यालय थियो, काठमाडौंको टेकुमा । समय माओवादी सशस्त्र द्वन्द्व र राजा ज्ञानेन्द्र शाहको शासनको चेपुवामा थियो । एक हिसाबले भन्ने हो भने संसदीय राजनीतिक फाँटका दलहरु चरम अलोकप्रिय बनाइएको समय थियो ।
कोइरालाको सभापतित्वमा बैठक शुरु भयो । मुख्यसचिवले क्यामेराम्यानहरुलाई दृष्य खिच्नका लागि बैठक कक्षमा बोलाए । अरु टेलिभिजनबाट ठूला क्यामेरा बोकेर क्यामेराम्यानहरु बैठक कक्षमा छिरे । हाम्रो टेलिभिजनबाट क्यामेराम्यान र रिपोर्टर दुबै म नै थिए । म पनि अरु क्यामेराम्यानको साथ बैठकभित्र छिरे । बैठक कक्ष पनि अहिलेको पार्टी कार्यालयको जस्तो थिएन । साँघुरो । नेताहरु कुर्सी मिलाएर बल्ल –बल्ल बसेका । केन्द्रीय समितिको आकार पनि सानो भएकाले नेताहरु सकसका साथ अटाएका । दृष्य खिच्न पनि निकै सकस हुनेझै । म पनि बैठकको दृष्य एकपछि अर्काे गर्दै अरुले झै खिच्दै थिए । तर म शिकारु थिएँ । अटोमा राखेर भर्खर क्यामेरा चलाउन थालेको मात्र थियो । लङ (लामा) सट, प्यान (घुमाउने) सट लिँदै मिड (मध्य) सट खिच्दै सभापति कोइराला भएको नजिक पुगेँ ।
त्यही बेला सभापतिको आशनमा रहनुभएका कोइरालाले मेरो क्यामेरातर्फ हेर्दै भन्नुभयो, ‘अहो, कति सानो क्यामेरा रैछ हगि, त्यो त म पनि चलाउन सक्छु होला । मलाई पनि चलाउन सिकाइदिनुस् है’ भन्नुभयो । मैले हवस भनें । तर प¥यो फसाद ! मैले भर्खरै क्यामेरा अटोमा राखेर खिच्न मात्रै जानेको थिएँ । अब कसरी गिरिजाबाबु जस्तो टावररिङ पर्सानालिटी (शिखर व्यक्तित्व) लाई क्यामेरा चलाउन सिकाउनु ?
बाँकी समय मैले के खिँचे ? मलाई नै पत्तो भएन । असिन पसिन झै भैसकेको थिए । अरु क्यामेराम्यानले आफूलाई चाहिने दृष्य संकलन गरिसकेका थिए । मुख्यसचिवले ल अब भयो, तपाईंहरु जानुस्, भने । म चाहिँ बैठकमै रहे । अब मैले गिरिजाबाबुलाई क्यामेरा चलाउन सिकाउनु थियो । ‘आफू त महादेव उत्तानो पर्, कस्लाई दिने वर’ भने जस्तो अवस्था थियो मेरो । तैपनि मैले कांग्रेसका सभापतिलाई क्यामेरा चलाउन सिकाउनु नै थियो ।
उहाँ बसेको कुर्सी नजिक गए । क्यामेरा उहाँको नजिक लगेर कसरी दृष्य खिचिन्छ भनेर देखाउँदै अन बटम थिच्न लगाएर क्यामेरा यसो दायाँबायाँ घुमाउन लगाए । उहाँले आफैले हातमा लिएर क्यामेरा चलाउनु भयो । त्यसपछि मैले अब बन्द गर्न यो अफ बटम थिच्नुपर्छ भनें । उहाँले उसैगरी अफ बटम थिच्नुभयो । मलाई लाग्यो ठूलो सकसबाट उत्रिए । लगत्तै, प्रफुल्ल मुद्रामा बैठकका सबैतिर हेर्दै गिरिजाबाबुले भन्नुभयो, ‘अहो, मैले पनि क्यामेरा खिँचे है ।’ सबै जनाले समर्थन जनाए ।त्यति नै बेला उहाँले थप्नुभयो, ‘अनि नि यो अहिले मैले खिचेको कस्तो भएछ, देखाउनुस् त ।’ अब मेरो हंसले ठाउँ छोड्यो । आफूले टेकेको धर्ती नै भासिए झै पो लाग्यो । कारण थियो, मलाई खिचेको दृष्य रिप्ले अर्थात् फर्काएर देखाउन नआउनु । म भर्खर अन अफ गरेर अटोमा राखेर खिच्न सिकेर क्यामेरा बोक्न मात्रै थालेको थिए । अब रिप्ले गरेर कसरी देखाउनु ? परेन फसाद ! अब मैले अघि उहाँले खिचेको दृष्य देखाउन सक्ने अवस्थै थिएन । केही न केही बहानाबाजी गर्नु नै थियो । अर्थात् झूठ बोेलेरै भए पनि उम्कनु थियो ।
म अँ उँ गर्दै त्यो त भन्दै थिएँ । बैठकको सामुन्ने केन्द्रीय सदस्य, नेता अर्जुननरसिंह केसी हुनुहुन्थ्यो । उहाँले मेरो मुहारको भाव पढ्दै अफ्ठेरोमा परेको देखिसक्नु भएछ । हत्तपत्त केसीले भन्नुभयो, ‘गिरिजाबाबु यो त उनीहरुले अहिले यहाँ खिच्ने मात्रै हुन् । देखाउन त अफिस गएर कम्युटरमा सारेपछि एडिट गरेर बल्ल देखाउने हुन् । अहिले हेर्न मिल्दैन’ ।
मैले पनि उहाँको यही भनाइमा हो मा हो मिसाए । आफूलाई शिरमाथिको ठूलो चट्टान उतारेझै लागेको थियो । नेता केसीले त्यसो भनेपछि कोइरालाले थप्नुभयो, ‘ए, त्यसो भए यो मैले अहिले खिचेको पनि भरे देखाउनु है । म हेर्छु नि ।’ आफूलाई कतिखेर उम्किउँ जस्तो भैसकेको थियो । म हुन्छ भनेर बैठकबाट बाहिरिए ।
प्रतिक्रिया दिनुहोस्