२० चैत्र २०८१, बुधबार | Wed Apr 2 2025


गिरिजा बाबु —क्रान्तिचेत र शान्ति स्थापना प्रतिको समन्वय गर्ने विलक्षण राजनेता


3.12k
Shares

हरिविनोद अधिकारी

गिरिजाबाबुका बारेमा धेरै स्मरण छन् तर अहिले ती पुराना सम्झनाभन्दा के कुरो महत्वपूर्ण भएको छ भने उहाँलाई नेपाली समाजले,राजनीतिले बिर्सन पो थालेको हो कि ? भन्ने लाग्न थालेको छ ।

स्थानीय निर्वाचनका क्रममा नै केही दिन पहिलेमात्र आफ्ना कार्यकर्ताहरुलाई प्रशिक्षण दिँदै हालका नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेको सुनियोे— २०६५ सालमा गिरिजाबाबुलाई राष्ट्रपति बनाउनु पर्ने रहेछ, हामीमा वहुमतको मात लागेकै थियो,उहाँलाई राष्ट्रपति बनाइएन ।तत्कालीन प्रधान सेनापति रुक्मांगद कटुवाललाई बेकारमा चलाइएछ, न उनलाई हटाउन सकियो, न त्यसपछि दल नै एक भएर बस्न सक्यो, दल त धेरै समूहमा टुक्रिएछ… अहिले त हाम्रै दलनै १२—१३ समूहमा विभाजित भएछ…। यसरी आफ्नो दल र आपूmलाई शान्तिप्रक्रियामा ल्याउने नेतालाई प्रचण्डले सम्झन थालेका छन् किनभने स्वयं राजनीतिक भुमरीमा फसेका छन् ।

खोलो तर्‍यो ,लौरो बिर्सियो भन्ने अस्वस्थकर राजनीतिक खेलले पनि आजको राजनीतिक मञ्चमा गलत परिणामहरू देखिन थालेका हुन् भन्ने कुरा ढुक्कसँग भने हुन्छ । भनिन्छ, तत्कालीन एमाओबादीले गिरिजाबाबुलाई राष्ट्रपतिको आशा देखाएको थियो । यदि त्यो सत्य थियो भने पहिलो संविधान सभाको अवधिको पहिलो दुई वर्षमा नै गिरिजाबाबु राष्ट्रपति अनि प्रचण्ड प्रधानमन्त्री भएको समयमा नै संविधान आउँथ्यो र सफल कार्यान्वयन त्यही बेलामा नै हुन्थ्यो भन्ने अनुमान सहजै गर्न मिल्छ । हुन त यो एउटा स्वैर कल्पना हुनसक्ला तर त्यो राजनीतिक जोडीले ल्याउने संविधानमा सायद त्यस्तो व्यवधान आउन थिएन होला जुन आजसम्म खप्न परेको छ । संविधानका बारेमा अनेक प्रश्न उठ्न थालेको जो छ ।

चैत्र ७ गते प्रत्येक वर्ष आउँछ । नेपाल सशस्त्र जनयुद्धको विभीषिकाबाट पिल्सिरहेको बेलामा सरकारमा नरहँदा समेत पनि मुलुकमा कसरी शान्ति स्थापना गर्न सकिन्छ भनेर जनयुद्धमा जनताका तर्फमा सबैभन्दा पीडित जनताका पक्षबाट जन युद्धरतपक्षसँग वार्ता गरेर सम्झौता गर्दै शान्ति स्थापना गर्नसक्ने एक शान्तिकामी राजनेता । अहिलेको जटिल राजनीतिक अवस्थामा अत्यन्तै आवश्यक व्यक्तिको रुपमा जनताले सम्झिएका राजनेता जो अब हामी माझ हुनुहुन्न र पनि उहाँको अवसानको मिति भने हामीसँग प्रत्येक वर्ष आउँछ । चैत्र ७ गते ।

२०६६ साल चैत्र ७ गते एउटा प्रजातान्त्रिक सेनापतिको महाप्रयाणको दिन ।हाम्रालागि स्मृति दिवस । प्रजातान्त्रिक गणतन्त्र नेपालको एउटा अविस्मरणीय नाम गिरिजाप्रसाद कोइराला । सामान्यतः गिरिजा दाइ या गिरिजा बाबु भनेर कार्यकर्ता र शुभेच्छुकले बोलाउने नाउँ । प्रजातन्त्रको स्थापना, पुनस्र्थापना र विकासका लागि सदैव अविचलित नाम गिरिजाप्रसाद कोइराला । प्रजातन्त्रका लागि फेरि फेरि कुनै पनि नेपालीले कुनै पनि किसिमको आन्दोलन कहिल्यै गर्नु नपरोस् भनेर ८३ वर्षको उमेरमा पनि आफैँ प्रजातन्त्र स्थापनार्थ सडक संघर्षमा होमिने गिरिजाप्रसाद कोइराला । प्रहरीले लाठी चलाउँदा आफैँ अग्रसर भएर लाठी थाप्न तयार गिरिजाप्रसाद कोइराला । युवाहरुको भन्दा बढी जोसका गिरिजाप्रसाद कोइराला ।

एउटा राष्ट्र र राष्ट्रका स्वाभिमानी जनताका लागि राष्ट्रियता र प्रजातन्त्र भनेको अभिन्न अवयव मान्ने कोइराला । राष्ट्रियता र प्रजातन्त्रलाई एउटै सिक्काका दुई पाटाको रुपमा प्रयोग गर्ने एक राजनेता । चाहे पञ्चायतका विरुद्धको सशस्त्र संघर्ष होस् वा पञ्चायतको विकल्पको खोजीमा गाउँ गाउँ जनताको राय लिन जाने एउटा सक्रिय राजनेताको रुपमा होस् । नेपालको अनुहार फेर्न र आगामी दिनमा प्रजातन्त्रको लागि कसैले पनि कहिल्यै पनि आन्दोलन गर्नु नपरोस् भनेर आफ्नै जीवनकालमा नै प्रजातन्त्रको प्रत्याभूति दिलाउन आजीवन त्यागको प्रतिमूर्ति गिरिजाप्रसाद कोइराला ।

३० वर्षको पन्चायती शासनपछि २०४६ चैत्र २६ गते राती प्रजातन्त्र पुनस्र्थापना पश्चात् २०४८ साल बैशाखमा आम निर्वाचन भयो । त्यो आम निर्वाचनपछि अरु पनि दुईओटा आम निर्वाचन भए २०५१ र २०५६ सालमा । बारम्बार नेपालको जननिर्वाचित प्रधानमन्त्रीका रुपमा भन्दा पनि एउटा क्रान्ति नायकका रुपमा उहाँको परिचय नेपाली जनताले पाएका हुन् ।समाज रुपान्तरणको पक्षमा सदैव समर्पित एउटा अनवरत यात्री गिरिजाप्रसाद कोइराला । जीवनको एउटा लक्ष्य र परिणाम नै प्रजातन्त्रप्रति समर्पित व्यक्तित्व गिरिजाप्रसाद कोइराला । गिरिजा बाबु ।

२०१७ सालमा प्रजातन्त्रको हत्या भएपछि लामो समय कारागारमा रहेर छुटेपछि उहाँ लामो समय भारत प्रवासमा रहनु भयो । त्यसपछि जनमत संग्रहमा सबै नेपालीले सहभागिता दिन सकून् भनेर राजनीतिक रुपमा २०३७ सालको सुरुमा आममाफी पाएर मात्र नेपाल प्रवेश गर्नु भएको थियो । तर नेपाली राजनीतिमा उहाँको नाम पहिलेदेखि नै क्रान्तिकारी नेताको रुपमा चित्रित थियो । त्यसबेला उहाँ प्रतिबन्धित नेपाली काँग्रेसको महामन्त्री हुुनुहुन्थ्यो । त्यसपछिका दिनहरुमा गिरिजाबाबुका कामहरु नेपालीहरुका लागि खुला किताब जत्तिकै स्पष्ट छ ।

समसामयिक नेपालका सबैभन्दा ओजस्वी अग्ला नेता गिरिजाप्रसाद कोइरालाको महाप्रस्थान भएको पनि बाह्र वर्ष भएछ । समय बितेको पत्तै पाइएनछ । नेपाली राजनीतिमा उहाँको कमी अझै पनि उस्तै देखिन्छ जुन आजभन्दा बाह्र वर्ष अघि महसुस गरिएको थियो । यी बितेका बाह्र वर्षमा पनि उहाँको रिक्तता पूरा हुन सकेको छैन । मानिसहरू कसैको निधन पश्चात हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दा भन्ने लेख्ने गर्छन् कि असामयिक निधन भयो,अपूरणीय क्षती हुनपुग्यो । वास्तवमा गिरिजाबाबुको निधनचाहिँ नेपाली राजनीतिमा असामयिक नै भएको रहेछ । अपूरणीय क्षति नै भएको रहेछ । मुलुकमा देखिने र घट्ने विभिन्न घटनाक्रमले त्यही देखाइरहेका छन् । चाहे त्यो संविधान निर्माणको क्रममा होस् या अहिले संविधानको कार्यान्वयनको क्रममा होस् या दुई तिहाईको सरकारको अवस्थामा होस् ।

कुनै एउटा व्यक्तिको अनुपस्थितिले मुलुकको राजनीतिको गति नै रोकिन्छ या जानु पर्ने दिशातिर नगएर गलत दिशातिर मोडिने सम्भावना सामान्यतः भएको पाइँदैन । कतिपयको निधनले मुलुकको राजनीतिले फेरि नयाँ बाटो पहिल्याएको देखिन्थ्यो तर उहाँको निधनले नेपाली राजनीतिको गतिलाई समेत सीमित बनाएको रहेछ र कुनै पनि अर्को व्यक्ति जेलिन लागेको या कसिन लागेको राजनीतिक गाँठो फुकाउन सक्षम रहेनछ । उहाँलाई नेपाली राजनीतिबाट पन्छाउन तत्कालीन एनेकपा माओबादीले सुरु गरेको अभियानले आज आफ्नो नकारात्मक परिणाम देखाइरहेको छ । त्यसको माखेसाङ्लोमा सबैभन्दा बढी जेलिएको त उही नै देखिएको छ । एकप्रकारले एमाओबादीको अवसान नै भयो, एमालेको मूलप्रवाहमा बिलायो । फेरि २०७७ साल फागुन २३ गतेको सर्वोच्च अदालतको निर्णयबमोजिम अहिले नेकपा माओबादी केन्द्रको रुपमा संगठित त छ तर धेरै नेता तथा कार्यकर्ता छिन्नभिन्न अवस्थामा । काँग्रेससँगको प्रतिस्पर्धाका लागि एकाकार भएको माओवादी केन्द्र र एमाले अहिले झन गन्तव्यविहीन बाटोमा देखिन्छन् ।

अहिले राजनीतिक फाँटमा एउटा कुरा बडो जोडतोडका साथ भन्ने गरिन्छ कि राजनीतिक स्वार्थभन्दा माथि उठेर, व्यक्तिगत स्वार्थभन्दा माथि उठेर त्यागी हुनसक्नुपर्दछ र निस्वार्थका साथ मुलुकका लागि काम गर्नुपर्दछ । वास्तवमा यो उत्तरआधुनिक नेपालमा त्यसोचाहिँ गिरिजाबाबुले मात्र गर्नुभयो । मुलुकलाई शान्तिको आवश्यकता छ भन्ने महसुस गरेर नै उहाँले आफ्नो दलभन्दा माथि उठेर र हिँसात्मक सशस्त्रयुद्धमा रहेको त्यस्तो दल नेकपा माओबादी जसले सवैभन्दा ठूलो शत्रु भनेर नेपाली काँग्रेसलाई मात्र घोषणा गरेको थियो,त्यसैलाई सम्झाएर र सत्ताको भागीदार बनाएर राजनीतिक मूलधारमा ल्याउनु भयो । यसो गरेकोमा नेपाली काँग्रेसभित्र अझै त्यसको विरुद्धमा ध्वनि प्रतिध्वनि आइरहेको छ र नेपाली काँग्रेसलाई चीनको कोमिन्ताङ बनाएको भनी देश तथा विदेशमा पनि उहाँको विरोधमा नारा अझै लगाइँदैछ । झन नयाँ संविधान अनुसारको तीन तहको सरकार गठन गर्नका भएको निर्वाचनले त्यस्तै देखायो । अहिले नेपाली काँग्रेस आफ्नो इतिहासको सबैभन्दा जटिल मोडमा उभिएको छ , नेपाल आफैँ पनि जटिल राजनीतिक मोडमा उभिएको छ,त्यसैले पनि गिरिजाबाबुको स्मरण पहिलेभन्दा अझ बढी भइरहेको छ ।

सधैंभरि पड्कने बम, मारिने नेपालीका परिवारको चीत्कार र मुलुकमा अब कहिले यो द्वन्द्व थामिएला भन्ने अन्यौलका बीचमा आफूलाई र आफ्नो दललाई महान शत्रु घोषणा गर्ने भूमिगत गुरिल्ला योद्धालाई शन्तिमार्गमा ल्याउनु भयो, लोकतन्त्रप्रतिको आस्थावान बनाउनु भयो र लोकतान्त्रिक प्रक्रियाद्वारा लोकतन्त्रको संरक्षण गर्नका लागि बाध्य बनाउनु भयो । हामीले के कुरामा गर्व गर्नुपर्दछ कि भूमिगत गुरिल्ला युद्ध गर्नेहरू नै अहिले लोकतान्त्रिक प्रक्रियाद्वारा संसदीय मान्यता र सिद्धान्तका आधारमा सरकारमा रहेका हुन्, त्यो पनि काँग्रेससँगै एउटै संसदमा जहाँ काँग्रेस अल्पमतको प्रतिपक्ष हुँदै सरकारमा छ आफैँले गराएको संसदीय निर्वाचनमा । काँग्रेसको सिद्धान्त जितेको छ तर जनमतमा कांग्रेस हारेको छ र पनि परिस्थितिले सरकारमा छ अहिले ।

इतिहासमा त्यस्तो बेला एकपल्ट एकजनाको हातमा आउँछ भन्ने कुरा गिरिजाबाबुको त्यो साहसका लागि लागू हुन्छ जसले जङ्गल कब्जा गरेको कुरा गर्थे,उनैलाई सत्तामा भागीदार बनाउने आँट गर्नुभयो र मुलुक आजको अवस्थासम्म आएको छ । हिजोका दिनमा अनवरत जनयुद्ध भइरहेको अवस्था र आजको शान्तिप्रक्रियाको अवस्थालाई तुलना गरेर हेराँै र अनिमात्र मुलुकको आजको अवस्थाको विकासक्रमलाई नियाल्न सजिलो हुनेछ । नेपालमा नै गिरिजाबाबुजस्ता साहसी रणनीतिकार नेता थिए भन्ने कुरा भावी दिनमा हाम्रा सन्ततिलाई सुनाउन पाउने इतिहास आजको विश्वमा हामीसँग मात्र छ ।उहाँको देहावसान पश्चात्का दिनमा शान्तिप्रक्रियाले गति लिन सकेन, यसका लागि सबै उत्तिकै दोषी छन् र सबैभन्दा बढी अनुत्तरदायी चाहिँ नेकपा माओबादी केन्द्रलाई मान्न सकिन्छ किनभने उसमा कुनै अवधारणा र रणनीति रहेनछ जनताका पक्षमा गरिने कामको । हिजो सरकारमा रहँदा पनि र आज सरकारमा रहँदा पनि त्यो देखिन्छ ।

गिरिजाबाबुले आत्मसात गरेर नै जस्तोसुकै कठिन अवस्था भए पनि हतियारसहितका सेना भएका माओबादीलाई निहत्था जनतासँग निर्वाचनमा ल्याउनु भयो र निर्वाचनको सुन्दरतासँग आमने सामने गराउनु भयो । वास्तवमा पहिलो संविधानसभाको निर्वाचनले सवैभन्दा क्षति नेपाली काँग्रेसलाई भएको थियो र त्यो साख निर्माण गर्ने बेलामा गिरिजाबाबुको निधन भयो । नेपाली काँग्रेसले त्यो रिक्तता पूरा गर्न अझै सकेको छैन तर नेपालमा सुरु भएको शान्तिप्रक्रियाले एउटा परिणाम लिने पक्का छ । नेपाली काँग्रेसले निर्वाचन हारेको छ र पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनपछि त झन नेपाली काँग्रेसमा नेतृत्वको रिक्तता छ, नेपाली काँग्रेस कुहिरोको काग भएको छ तर मुलुकले शान्तिप्रक्रियामा अग्रगति लिइरहेको छ धरमर अवस्थामा भए पनि ।

गिरिजाबाबुले दलभन्दा माथि उठेर, व्यक्तिगत स्वार्थभन्दा माथि उठेर मुलुकलाई एउटा अन्यौलपूर्ण महाभेलमा फसेको डुङ्गालाई माझभेलबाट वा बैतालाग्ने अवस्थाबाट किनारामा ल्याउनु भएको थियो । आज त्यही कुरा नै स्मरणीय हुन जान्छ । भोलिका लागि अनुपम उदाहरण बन्न जान्छ । ती महामानवको सम्झनामा हामीले कुनै दीप प्रज्ज्वलन गर्नु जरुरी छैन, कुनै स्मारक बनाउनु जरुरी छैन । तर प्रजातन्त्रको दियो जलाइरहनु नै पर्याप्त हुनेछ ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा सफलताको आधारशिला राख्ने भनेको नै लोकतन्त्रको सँस्थागत विकास हुनु हो । यदि कोही पनि वा कुनै दलले पनि लोकतन्त्रको विरुद्धमा गएर नेपालको राजनीतिमा स्थायित्व ल्याउने सपना देखेको छ भने वा त्यस्तो धृष्टता गर्दछ भने एक्काइसौँ शताब्दीमा जनभेलले त्यस्ता व्यक्ति वा समूहलाई सदाका लागि समाप्त पार्नेछ भन्ने उदाहरण अहिलेका विश्वमा प्रजातन्त्र र सामाजिक न्यायप्रतिको जागरणले विश्वलाई दिएको छ ।

अहिले गिरिजाबाबुलाई बिर्सिने खेल नेपाली काँग्रेसभित्रै भइरहेको आभास हुन्छ । अहिलेको सबै राजनीतिक विकृतिको दोष उहाँमा खन्याएर सबै पानीमाथिको ओभानो हुन चाहेका छन् तर के बिर्सिए भने अन्तरिम संविधान आएपछि नै मधेस आन्दोलनले उग्ररुप लिएको थियो । कोइरालाको क्रान्तिकारी अतीत, अदम्य साहस र स्वार्थरहित समन्वयकारी क्षमताले गर्दा नै पहिलो संविधान सभाको निर्वाचन सम्भव भएको थियो । त्यसपछिका दिनहरु पनि अझै उहाँका देनहरुले डोरिँदै गएका छन् । तर लाग्दैछ, मुलुक अबचाहिँ अकल्पनीय परिणामका लागि कतै डोरिँदै छ र फेरि उहाँको आवश्यकता बोध हुने गरी तूफान आउन थालेको छ । यथार्थ के हो भने अहिले उहाँ हुुनुहुन्न ।

आशा गरौँ, स्वार्थभन्दा माथि उठेर समन्वय गर्ने अर्को गिरिजाप्रसाद यहाँ जन्मियोस् र मुलुकलाई एउटा द्वन्द्वरहित अनि सामाजिक न्यायतर्फको बाटोमा मुलुकलाई लिएर जाने कामको थालनी गर्न सकोस् । नेपालको राष्ट्रियताको समृद्धि र प्रजातन्त्रको स्थायित्व नै गिरिजाबाबुप्रतिको श्रद्धाञ्जली हुनेछ । काँग्रेसी जनले बिर्सिउन् तर नेपालीजनले कोइरालाको त्यो गुण बिर्सिने छैनन् जसले जनहत्याको रापले धपधपी बलेको नेपालको राजनीतिमा मलम लगाउँदै शान्तिको सन्देश फैलाएका थिए र ती जनहत्याका नायकहरुलाई जनताको महत्व सम्झाउँदै शान्तिको मूलधारमा ल्याएर कर्तव्याकर्तव्यको पाठ पढाएका थिए ।