
काठमाडौं । स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरूले चुनाव केन्द्रित अभियान तीव्र पारेका छन् ।
चुनाव केन्द्रित कार्यक्रम लिएर एकातिर दलहरू जनता मतदातालाई आफूतिर तान्ने प्रयास गरिरहेका छन् भने अर्कोतिर चुनावी तालमेलतिर पनि उत्तिकै कसरत गरिरहेका छन् । आगामी चुनावमा मुख्यगरी ५ दलीय सत्तागठबन्धनका दलहरूबीच चुनावी तालमेलको विषयले चर्चा पाएको छ ।
तर, सत्तागठबन्धनका दलहरूसँग चुनावी तालमेल गरेर चुनावमा गए घाटा हुने कांग्रेसको बुझाइ छ । किनकी चुनावी तालमेल गरेर गए गठबन्धनका अन्य दलहरूलाई पनि भाग दिनुपर्ने र यसको प्रत्यक्ष असर परिणाममा पर्ने कांग्रेसका अधिकांश नेताहरूको बुझाइ छ ।
त्यतिमात्र नभई अघिल्लो स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रसँग तालमेल गरे पनि माओवादी समर्थित मतदाताले कांग्रेसका उम्मेदवारलाई मत नदिएको उदाहरण पनि ताजै छन् । तालमेल गरेर गए यसपटक पनि त्यही हविगत हुने आशंका पनि उत्तिकै छ ।
अर्कोतिर अघिल्लो निर्वाचनमा जस्तै वाम एकता भए पुनः पराजित भइने भय पनि कांग्रेसलाई उत्तिकै छ । यसकारण गठबन्धनको पक्ष र विपक्षमा बहस चलिरहे पनि कांग्रेसले निर्णय गर्न सकेको छैन ।
यसपटकको निर्वाचनमा कांग्रेस गठबन्धनमा रहेको वामघटकलाई आफूसँगै आबद्ध गरेर वामएकता हुन नदिने रणनीतिमा छ । चुनावी तालमेलअघि स्थानीय तहमा पार्टीको अवस्था बुझेर मात्र निर्णय गर्ने कांग्रेसको रणनीति देखिन्छ ।
चुनावी तालमेलविरुद्ध पार्टीभित्र ठूलो मत रहे पनि सभापति शेरबहादुर देउवा, संसदबाट एमसीसी पारित गर्न सत्तासाझेदार दलहरूले सहयोग गरेको कारण पनि गठबन्धनको निरन्तरताको पक्षमा रहनुभएको छ ।
पछिल्लो समय सभापति देउवाले आगामी स्थानीय तहमा कम्तिमा महानगर, उपमहानगर र आवश्यकताअनुसार अन्य स्थानीय तहमा चुनावी तालमेल गर्न सत्तासाझेदार दलका शीर्ष नेताहरूसँग अनौपचारिक छलफल सुरु गर्नुभएको छ ।
चुनावी तालमेल गरे पनि यसपटक कांग्रेसको मुख्य ध्यान चुनावी परिणाममा देखिन्छ । आफूहरू के गर्दा बढी सिट आउँछ भनेर त्यहिअनुसार अगाडि बढ्ने पार्टीका प्रवक्ता प्रकाशशरण महत बताउनुहुन्छ । यद्यपि मोडालिटी र कार्यान्वयनबारे छलफल गर्नैै बाँकी रहेको उहाँको भनाइ छ ।
गठबन्धनका दलहरू माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र जनमोर्चा गठबन्धनमा रहेका दलहरूबीच नै चुनावी तालमेल गर्न जोडबल गरिरहेका छन् ।
कांग्रेसले चुनावी तालमेल नगरे एमालेसंग तालमेल हुनसक्ने अभिव्यक्ति दिएर गठबन्धनभित्रका बाम दलहरूले कांग्रेसलाई तालमेलको लागि दबाव सृजना गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्