२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


‘बजेटमा कृषिलाई पहिलो प्राथमिकता’


78
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष ०७९/८० को बजेटमा कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर बजेट निर्माण गर्ने बताउनुभएको छ ।

सोमबार रुकुम सदरमुकाममा पत्रकार महासंघ शाखा कार्यालय, रुकुमले गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले आयात प्रतिस्थापन गर्ने र निर्यात वृद्धि गर्ने सवालमा कृषि क्षेत्रले धेरै मदत गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कूल वैदेशिक व्यापारमा माघ मसान्तसम्म निर्यातको हिस्सा १० प्रतिशत नाघेको बताउँदै उहाँले आगामी वर्षदेखि प्रत्येक वर्ष निर्यातको हिस्सा १० प्रतिशतका दरले बढाउँदै लैजाने लक्ष्य राखिने बताउनुभयो ।

उहाँले प्रमुख शहरसँग ग्रामिण क्षेत्रको दुरी घटाउने गरी पूर्वाधार विकास गर्नेतर्फ पनि बजेटले ध्यान दिने बताउनुभयो ।

एउटा शहरबाट अर्को शहरको दुरी घटाउने योजना बनाएका भन्दै उहाँले काठमाडौंबाट पोखराको सडक दुरी २ घण्टा कायम गराउने गरी योजना बनाइरहेको दृष्टान्त दिनुभयो ।

मन्त्री शर्माले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ, सुन–चाँदी, खानेतेल, प्लास्टिक, डण्डी, ढुवानी भाडालगायतको मूल्यवृद्धिले नेपालमा समेत चाप परिरहेता पनि मूल्यवृद्धि सीमाभित्रै रहेकाले अत्तालिनुपर्ने स्थिति नरहेको पनि बताउनुभयो ।

शोधानान्तर घाटालाई विस्तारै सुधार गर्दैै लगेको तथा तरलता अभाव केही दिन भित्रै समाधानउन्मुख भएकाले अर्थतन्त्र बिस्तारै लयमा आउने उहाँले विश्वास दिलाउनुभयो ।

अहिले अवैध डिजिटल कारोबारका कारण दैनिक ५० करोड रुपैयाँसम्म नेपाली मुद्रा बाहिरिन थालेको भन्दै उहाँले यस्ता गतिविधि रोक्न सबै संयन्त्र परिचालन गरेको बताउनुभयो ।