१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एनआरएनएको निर्वाचन गतिविधि रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश


52
Shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचनका गतिविधि तत्काल रोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

उच्च अदालत पाटनका न्यायाधीश दुर्गाबहादुर विश्वकर्माको एकल इजलासले ९ गते छलफलका लागि दुवै पक्षलाई बोलाउँदै उक्त मितिसम्म निर्वाचनका गतिविधि नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

संघको निर्वाचन यही चैत १० र ११ गते हुने पूर्व निर्धारित कार्यतालिका रहेको थियो । गैरआवासीय नेपाली संघको संस्थापन पक्षले आगामी १० र ११ गते संघको नयाँ नेतृत्व चयनका लागि निर्वाचनको मिति घोषणा गरेको थियो ।

तर, उक्त निर्णयविरुद्ध संघका सदस्य चिन्तामणि सापकोटा लगायतले उच्च अदालत पाटनमा रिट निवेदन दिँदै निर्वाचन रोक्न माग गर्नुभएको थियो । उक्त रिटमाथि भएको प्रारम्भिक सुनुवाइमा चैत ९ गतेका लागि छलफल गर्न मिति तोकिएको छ ।

त्यसअघिसम्म संघले निर्वाचनका लागि कुनै गतिविधि नगर्न अल्पकालीन अन्तरिम आदेशसमेत जारी भएको छ । चैत ९ गते दुवै पक्षबीच छलफल गराई निर्वाचनको कार्यतालिका रोक्ने गरी अन्तरिम आदेश जारी गर्नु वा नपर्ने भन्ने सम्बन्धमा सुनुवाइ हुनेछ ।

उक्त मितिमा निर्वाचन रोक्न अन्तरिम आदेश जारी भएको अवस्थामा एनआएनएको निर्वाचन रोकिने छ । अन्तरिम आदेश जारी गर्नु नपर्ने भएमा भने संघले नयाँ नेतृत्वका लागि निर्वाचन गर्नेछ ।