
काठमाडौं । विश्व सम्पदा पाटन दरबारमा रहेको लिच्छबीकालिन अनुपम कलात्मक मंगः हितिले १४ सय ५२ वर्षदेखि निरन्तर हजारौं व्यक्तिको प्यास मेट्दै आएकाे थियाे ।
देवदेवीहरूकाे पूजाका लागि जलसमेत यहिँबाट लगिनथ्याे । तर अहिले यो विनासको संघारमा पुगेको छ । हितिबाट अहिले प्यास मेटिने पानी आउँदैन । ढलकाे दुर्गन्धले भरिएकाे पानी बग्छ ।
पूर्खाको ज्ञान र प्रविधिबाट बनेको अहिलेसम्म केही नभएको हिति विकास निमार्णको एउटा आयोजनाले प्राणहीन भएको छ ।
काठमाडौं उपत्यका फोहर पानी व्यवस्थापन आयोजनाअन्तर्गत एसियाली विकास बैंकको ऋण सहयोगमा ललितपुर महानगरपालिकाले दरबार परिसर अगाडि करिव ८ फिट गहिराइमा ढल निर्माण गरेपछि मगं हितिबाट पानी आउन छोडेको हो ।
ऐतिहासिक ढुंगेधारा तथा पोखरी संरक्षण संघका अध्यक्ष सुशिल श्रेष्ठ, स्थानीयको विरोधका बावजुत विश्वसम्पदा क्षेत्रमा ठूलो ढल निर्माण गर्दा मंगः हितिको पानीको मुहानमा क्षति पुगेको हुनसक्ने बताउनुहुन्छ ।
मंगलटोल सुधार संघका अध्यक्ष किरणमान प्रधान, अहिले दरबार क्षेत्रमा रहेका इनारहरूमा समेत गन्हाउने पानी आइरहेको बताउनुहुन्छ । ठूलो आयोजनाका कारण सिर्जित समस्याको तत्काल अनुसन्धान गरेर समाधान नगरिए आगामी दिनमा झनै ठूलो समस्या आउन सक्ने उहाँको भनाइ छ ।
पूर्खाले हजारौं वर्षसम्म नबिग्रने गरी परम्परागत प्रविधिले हिति र पानीको स्रोत बचाइ राखेको भए पनि आधुनिक युगमा सम्पदामा र प्राकृतिक स्रोत नास हुनु दुःखद् भएको ऐतिहासिक ढुंगेधारा तथा पोखरी संरक्षण संघका अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ । आयोजना सकिनु अघि नै समस्या समाधान गर्नु पर्नेमा उहाँको जोड छ ।
हजारौं वर्षदेखि पूर्खाले बचाएर राखेका यस्ता सम्पदा एउटा विकास आयोजनाबाट नष्ट हुनु शुभ संकेत होइन् । हिति सभ्यता हाम्रो जीवन पद्धति पनि हो । त्यसैले कुनै पनि बहाना यसको अस्तित्व नामेट पार्नु कसैलाई पनि स्वीकार्य हुन सक्दैन ।
प्रतिक्रिया दिनुहोस्