१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बेरोजगारीको यथार्थ चित्र देखाउने तस्बिर

म्यादी प्रहरीका आवेदक भन्छन्– ‘देशका सीप र दक्षताको मूल्याङ्कन भएन’

247
Shares

चितवन । चितवनमा नेपाल प्रहरीले म्यादी प्रहरीका लागि आवेदन लिन थालेपछि भिड बढेको छ ।

आगामी वैशाख ३० गते हुने स्थानीय चुनावका लागि देशभरबाट १ लाख जनशक्ति माग हुँदा चितवनमा पनि आवेदन दिनेहरू उल्लेख्य छन् । कतिपय रहरले र धेरै बाध्यताकै कारण म्यादी प्रहरी बन्ने प्रक्रियामा आएको चितवनमा आवेदन दिनेहरूले बताएका छन् ।

म्यादी प्रहरीकाे लागि आवेदन दिएका आएका अधिकांशले सरकारले उपयुक्त राेजगारीकाे व्यवस्था गर्नुपर्ने बताएका छन् । देशका युवाहरू बेराेजगारीका कारण विदेशिनुपरेकाे अवस्था स्मरण गराउँदै उनीहरूले अन्य देश जान सहजीकरण गर्न भन्दा पनि राेजगारीमा वृद्धिमा जाेड दिन आग्रह गरेका छन् ।

राप्ती नगरपालिका-१ का मिलन पाठक आठ वर्ष विदेश बस्नुभयो । हातमा अन्तर्राष्ट्रिय तहकै सर्टिफिकेटहरू छन् । तर, आफ्नै देशमा त्यसलाई मूल्याङ्कन गरिदिने कम्पनी नभएकाे गुनासाे गर्नुहुन्छ । न त तलब नै त्यहि अनुसारकाे छ ।

पर्यटक गाइडको समेत कार्य गर्नुभएका उहाँ कोरोनाले त्यो पेशा पनि खोसियो । अहिले म्यादी प्रहरीका लागि निवेदन दिन भरतपुर- १० को गेष्टहाउस चौउरमा उभिइरहनुभएको उहाँ देशमा सीप र क्षमताअनुसारकाे रोजगारी कहिले पाइन्छ होला भन्दै प्रश्न गर्नुहुन्छ ।

गुल्मी घर भएर अहिले गैंडाकोटमा बस्दै आउनुभएकी दिपा नेपाली गेष्टहाउस चउरमा सबेरै देखिनुभयाे । हातमा आवश्यक कागजात छन् । तर, अत्यधिक भिड भएपछि प्रहरीले २०-२० जनालाई मात्रै भित्र प्रवेश गर्ने व्यवस्था गरेकाले चर्काे घाममा छाताको छहारीमा पालाे कुरिरहनुभएकाे छ ।

आम्दानीसँगै पाँच वर्षमा आउने चुनावमा सेवा गर्ने अवसरसमेत पाइने उत्साहले उहाँ म्यादी प्रहरीका लागि फर्म भर्न आउनुभएको हो । भिडले सडक नै अवरुद्ध हुन पुगेपछि चितवन प्रहरीले गेष्टहाउस चउरमा राख्ने र त्यहाँबाट समूह-समूह बनाएर आवेदन दिने ठाउँमा पुग्ने व्यवस्था गरेको छ ।

जम्मा १ हजार ७ सय ९ जना जनशक्ति चितवनलाई चाहिन्छ । जसमा पहिलो दिनमै ७ सय २१ जनाले आवेदन दिइसकेका छन् । अहिले तीन ठाउँमा आवेदन लिने व्यवस्था मिलाएको चितवन प्रहरीका प्रवक्ता डिएसपी नरहरी अधिकारी बताउनुहुन्छ।

छोटो समयमा मध्यम आम्दानी हुने भएपछि म्यादी प्रहरीमा आकर्षण बढेको छ । आर्थिक अभावले थिल-थिलो बनाएको पीडा एकातिर, विदेश जान सहज वातावरण अझै नबन्दा केही घाउ पुर्न यसले काम त गर्छ ।

यद्यपि, सरकारले रोजगारीका अवसर सिर्जना गर्दै सहजै ऋण वा अनुदान लिएर व्यवसाय गर्ने वातावरण बनाउन सके म्यादीमा छनाेट नभएकाहरूले पनि स्थायी रूपमा राेजगारी पाउँछ ।