
काठमाडौं । चार सय केभी क्षमताको रातमाटे सब स्टेसनका लागि आवश्यक जग्गा ३५ दिनभित्र खाली गराउन एमसीए नेपालले सूचना जारी गरेको छ ।
नुवाकोटको बेलकोटगढी नगरपालिकास्थित रातमाटे सबस्टेसनका लागि आवश्यक जग्गा यसअघि नै मुआब्जा वितरण गरी अधिग्रहण भइसकेको छ । सो जग्गा खाली गराउन एमसीए नेपालले सूचना जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट विभिन्न मितिमा जग्गाको क्षतिपूर्ति तथा पुनर्बास सहायता रकम समेत वितरण भइसकेको जनाउँदै एमसीए नेपालले मुआब्जा तथा पुनर्बास रकम बुझिसकेकाले क्षेत्र खाली गर्न आग्रह गरेको हो ।
एमसीए नेपालका अनुसार अधिग्रहण गरिएका जग्गामा स्वीकृत कार्यक्रमअनुरुप सबस्टेसन निर्माणका लागि अब तारबार गर्ने कार्य अघि बढाइने छ । एमसीसी कम्प्याक्ट कोषको कुल ५० करोड अमेरिकी डलरमध्ये ३९ करोड ८२ लाख डलर विद्युत् प्रसारण आयोजनाका लागि मात्रै खर्च हुनेछ ।
विद्युत् प्रशारण आयोजनाअन्तर्गत तीन वटा नयाँ सबस्टेसन निर्माण हुनेछन् । नुवाकोटमा रातमाटे सबस्टेन, तनहुँमा दमौली सबस्टेसन र नवलपरासी पश्चिम जिल्लाको भुमहीमा नयाँ बुटवल सबस्टेसन निर्माण गरिनेछ ।
काठमाडौं जिल्लाको लप्सीफेदी र मकवानपुर जिल्लाको नयाँ हेटौंडास्थित नेपाल विद्युत् प्राधिकरणका हालका सबस्टेसन पनि जोडिनेछन् । १० जिल्ला काठमाडौं, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, मकवानपुर, चितवन, तनहुँ, पाल्पा, नवलपुर र परासी जिल्ला भएर प्रसारणलाइन जानेछ ।
प्रसारण लाइन करिब ३१५ किलोमिटर लामो हुनेछ र ८५६ वटा टावर निर्माण गर्नुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्