
काठमाडौं । चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीबाट यस आर्थिक वर्षको माघ मसान्तसम्म लक्ष्यभन्दा बढी राजस्व संकलन भएको छ ।
माघ मसान्तसम्म दुई अर्ब चार करोड राजस्व संकलन भएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत नारद गौतमले जानकारी दिनुभयो ।
८२ करोड ६४ लाख रुपैयाँ लक्ष्य रहेकामा यो लक्ष्यको २४७ दशमलव १७ प्रतिशत हो । आर्थिक वर्ष २०७८/०७९ असार मसान्तसम्म एक अर्ब ६४ करोड लक्ष्य लिएकामा दुई अर्ब चार करोड राजस्व उठेको थियो ।
राजस्व उठे पनि आयात भने सहज नभएको प्रमुख गौतमले बताउनुभयो । सोमबार दुईवटा मात्रै कन्टेनर भित्रिएको, कहिले आयात शून्य हुने उहाँले बताउनुभयो । नाका सञ्चालन गर्न उच्चस्तरीय पहल गर्नुपर्नेमा उहाँको जोड छ ।
वि.सं २०७२ को भूकम्प, बाढीपहिरो तथा कोरोना महामारीपछि नाका सजहरूपमा सञ्चालन हुन सकेको छैन । आयात न्यून रहेको छ भने निर्यात शून्य रहेको गौतमले बताउनुभयो ।
नेपाल आइपुगेका १० मुख्य सामग्रीमा तयारी कपडा, स्याउ, होजियरी कपडा, जुत्ता चप्पल, ओखर, लेडिज सेण्डल, डबल क्याव पिकअप गाडी, हाते झोलालगायत छन् । भूकम्पअघि यस नाकाबाट दैनिक रु डेढ करोडसम्म राजस्व असुली हुँदै आएको थियो ।
प्रतिक्रिया दिनुहोस्