
काठमाडौं । काठमाडौं उपत्यकाका सडक चोक-चोकमा थुप्रिएको फोहोरको व्यवस्थापन हुन एक साता लाग्ने बताइएको छ ।
चैत लागेसँगै उपत्यकाको सडक छेउछाउमा थुपारिएको फोहर चार दिनदेखि व्यवस्थापन गर्न थालिएको छ । चैत महिनामा चार दिन र फागुनमा २३ दिन विभिन्न वहानामा फोहर व्यवस्थापन हुन सकेन ।
लामो समयदेखि फोहर रोकिएको हुनाले नियमित तरुपमा व्यवस्थापन कार्य हुँदा पनि एक साता लाग्ने काठमाडौं महानगरपालिकाका वातावरण विभाग प्रमुख सरिता राईले बताउनुभयो । फोहर व्यवस्थापन गरिँदै आएको स्थान सिसडोलका स्थानीयले फोहर विसर्जन गर्ने ठाउँ नुवाकोटको सिसडोलसम्मको बाटो कालोपत्र गर्नुपर्ने माग गर्दै स्थानीयवासीले गरेको आन्दोलनका कारण फागुन १ गतेदेखि उपत्यकाको फोहोर उठ्न सकेको थिएन ।
त्यसैगरी पछिल्लो समय निर्माणाधीन बञ्चरेडाँडाका स्थानीयले निर्माणस्थल वरपरका जग्गा अधिग्रहण गर्नुपर्ने, स्थानीयलाई निःशुल्क स्वास्थ्योपचार गराउनुपर्नेजस्ता माग राखेका छन् । सहरी विकास मन्त्रालयले निर्माणाधीन दीर्घकालीन फोहोर व्यवस्थापनस्थलमा पहिलो सेलको काम सम्पन्न भएको भन्दै फोहर राख्न मिल्ने जनाएको छ ।
हाल फोहोर व्यवस्थापनस्थल सिसडोल भरिएको र निर्माणाधीनस्थलमा पनि फोहर राख्न सुरु गर्नु पूर्वनै स्थानीयको अवरोधले काठमाडौ उपत्यकाको फोहोर व्यवस्थापनमा थप समस्या हुने देखिएको महानगरको भनाइ छ । उपत्यकामा दैनिक एक हजारदेखि एक हजार २०० टनसम्म फोहोर निस्कने गरेको छ । उपत्यकाका १८ स्थानीय तहको फोहोर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । यी सबै फोहर निजी र महानगरका गरी दैनिक २०० भन्दा धेरै टिपर–ट्रकबाट लगिने छ ।
प्रतिक्रिया दिनुहोस्