२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


जय मधेश भन्ने नै एमालेले हो : अध्यक्ष ओली


442
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मधेशमा एमाले सरकारले समृद्धि ल्याउने बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा पूर्वमन्त्री प्रेमबहादुर सिंह, अभिनेत्री करिश्मा मानन्धरलगायतलाई पार्टीमा प्रवेश गराउने क्रममा अध्यक्ष ओलीले मधेशले समृद्धि खोजेको उल्लेख गर्दै सो काम एमालेले मात्रै पूरा गरेर देखाउने बताउनुभयो ।

अध्यक्ष ओलीले ‘जय मधेश’ भन्ने नै एमालेले भएको जिकीर गर्र्दै एमाले नेतृत्वको सरकारले मधेशको विकासका लागि काम गरेको दाबी गर्नुभयो ।

‘शिव पटेलजीले जय मधेश भन्ने पुरानो बानी छ भन्नुभयो, अब जय मधेश भन्ने नै एमालेले हो,’ उहाँले भन्नुभयो, ‘मधेशको जय गर्नै एमालेले हो, मधेशले समृद्धि खोजेको छ, त्यसको नेतृत्व एमालेले गर्छ ।’

अध्यक्ष ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने भन्दै तयारीमा जुट्न नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।

‘आगामी इलेक्सनमा देशका लागि हामीले बहुमत ल्याउछौं र ल्याउनुपर्छ,’ उहाँले भन्नुभयो, ‘म साथीहरूलाई आग्रह गर्न चाहन्छु– हामीले बहुमत ल्याउनुपर्छ, ल्याउने गरी लाग्नुस्, देश र जनताको हितका लागि पनि एमालेले बहुमत ल्याउनुपर्छ ।’

अध्यक्ष ओलीले एमाले किन प्रवेश गरिएछ भनेर पछुताउनुपर्ने अवस्था हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । सिंगो देशको हित गर्ने एमालेमा प्रवेश गरेकाहरूको पनि हित हुने बताउनुभयो ।

अध्यक्ष ओलीले एमालेमा प्रवेश गर्नेहरूको लहर नै चलेको उल्लेख गर्दै उनीहरूलाई आफ्नो पार्टीले देशको हितमा काम गरेकोमा सन्तुष्टि मिल्ने बताउनुभयो ।

‘म सबै साथीहरूलाई ढुक्क हुन आग्रह गर्दछु, आफ्नो राजनीतिक भविष्य के हुन्छ भन्ने होइन,’ उहाँले भन्नुभयो, ‘देशकै राजनीतिक भविष्य सुदृढ हुन्छ भने, देशको सीमा सुरक्षा हुन्छ भने, देशको सार्वभौमसत्ता सुरक्षा हुन्छ भने, स्वाधिनता र स्वतन्त्रता सुरक्षित हुन्छ भने, राष्ट्रिय हितहरूको सुरक्षा हुन्छ भने नेपालको लोकतन्त्रको सुरक्षा हुन्छ भने यस्तो स्थितिमा हाम्रा हितहरू सुरक्षित नहुने भन्ने हुँदैन ।’