१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आफैँ असुरक्षित प्रहरीले जनतालाई कसरी सुरक्षा देला ?


494
Shares

बागलुङ । कालीगण्डकी पुल तरेर बागलुङ प्रवेश गर्नासाथ दायाँपट्टी केही स–साना घर र टहराहरू देखिन्छन् । खिया लागेका पुराना जस्तापाताले बारेका जीर्ण घरहरू सुरक्षाका हिसाबले अत्यन्तै जोखिमपूर्ण छ ।

देश र नागरिककाे सुरक्षामा खटिएका प्रहरीहरू यहि जोखिमपूर्ण घरमा बसेर सुरक्षा प्रदान गरिरहेका छन् ।‍ सुरक्षाका हिसाबले अत्यन्तै संवेदनशील भएर प्रहरी परिचालन गरिएकाे मालढुङ्गा क्षेत्रमा अहिले उनीहरू नै आवासका कारण असुरक्षित छन् ।

आवास जोखिमपूर्ण त छ नै बस्न, खान र सुत्नका लागि समेत उत्तिकै समस्या छ । भवन व्यवस्थापन नहुँदा प्रहरीलाई व्यवस्थापन गर्न समस्या भइरहेकाे मालढुङ्गा प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक मीनबहादुर खत्रीले बताउनुहुन्छ ।

मालढुङ्गा प्रहरी चौकीमा हाल दुईजना ट्राफिक र आठ जना प्रहरी जवान गरी १० जना कार्यरत छन् । भवन सानाे हुँदा उनीहरु पालाे गरेर सुत्ने गरेका छन् ।

दैनिक सयौँ यातायातका साधन र हजारौँ नागरिक जिल्ला भित्रिने र बाहिरीने गरेकाले पनि मालढुङ्गा क्षेत्रमा विभिन्न आपराधिक क्रियाकलापकाे जाेखिम छ । जग्गाका कारण भवन व्यवस्थापन हुन नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञवाली बताउनुहुन्छ ।

जिल्लाको सुगम मानिने स्थानमै प्रहरी चौकीको अवस्थाकाे बिजाेगले दुर्गम भेगकाे अवस्था स्पष्टै झल्किन्छ । जीर्ण भवनमा बसेर आफैँ असुरक्षित प्रहरीले जनतालाई कसरी सुरक्षा देला ? एकपटक साेच्ने कि !