
एजेन्सी । सोमबार दुर्घटनामा परेको चाइना इस्टर्न एयरलाइन्सको जहाजको ब्ल्याक बक्स फेला परेको छ ।
खोजी कार्यमा संलग्न अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले बुधबार दिउँसो ब्ल्याक बक्स भेटिएको जनाएको छ ।
बुधबार बिहान वर्षासँगै दुर्घटनास्थलमा सानो पहिरो पनि खसेकाले खोजी कार्यमा जटिलता थपिएको थियो । सोमबार दिउँसो कुनमिङदेखि ग्वान्जाओ उडेको बोइङ ७३७-८०० एनजी मोडलको जहाज दिउँसो जंगलमा दुर्घटनामा परेको थियो । २९ हजार फिटमाथि उडिरहेको जहाज केही सेकेन्डभित्रै ७ हजार फिटको उचाइमा पुगेको थियो । केहीबेर पाइलटले जहाजलाई फेरि उचाइमा लिन खोजेको फ्लाइटराडारको डाटामा देखिएको छ ।
पाइलटको प्रयास सफल हुन नसकेपछि जहाज गुआङ्ग्सी प्रान्तको जंगलमा खसेको थियो । जहाजसँगै जंगलमा पनि आगो लागेको थियो । १२३ यात्रु र ९ जना चालक दलका सदस्यमध्ये अहिलेसम्म कसैको पनि पत्तो लागेको छैन ।
जहाजको ब्ल्याक बक्स खोज्न यसअघि ड्रोन पनि परिचालन गरिएको थियो । अनुसन्धानकर्ताहरूले सो विमान किन अकस्मात् आकाशबाट खस्यो भन्ने पत्ता लगाउन सकेका छैनन् ।
लामो समयसम्म सरकारी अधिकारीहरुले दुर्घटनाका यकिन विवरण उपलब्ध नगराउँदा चीनमा शोक फैलिएको छ । विमानमा सवार १२३ यात्रु र चालक दलका नौ सदस्यका परिवारजन र इष्टमित्र बुझाऊ र ग्वाङ्जाऊ विमानस्थलमा भेला भएका छन् भने केही मानिसहरू युन्नान प्रान्तस्थित चाइना इस्टर्नका कार्यालयमा पनि पुगेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्