२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


आफ्नो शक्ति बलियो भएमात्र अरुसँग तालमेलको अर्थ रहन्छ : अध्यक्ष नेपाल


338
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अरुको सहारामा चुनाव जित्ने कुरा नसोच्न आग्रह गर्नुभएको छ ।

बुधबार काठमाडौंमा भएको पार्टीको बाग्मती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकमा बोल्दै अध्यक्ष नेपालले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई अरुको सहारामा चुनाव जित्ने कुरा नसोच्न आग्रह गर्नुभएको हो । उहाँले आफ्नो शक्ति बलियो भएमात्र अरुसँगको तालमेलको अर्थ रहने भन्दै आफ्नो स्थिति कमजोर भएको बेलामा अनावश्यक कुरा सोच्नु नहुने बताउनुभयो । अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचनमा समाज र पार्टीले चिनेको मान्छेलाई मात्रै उम्मेदवारमा उठाउनुपर्ने बताउनुभयो ।

अध्यक्ष नेपालले आफ्नो पार्टीमा रहेका मन्त्रीदवय प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठ राति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न गएको कुरा झुटो भएको दाबी गर्नुभयो । उहाँले अध्यक्ष ओलीका साइबर सेनाहरुले झुटो प्रचार गर्दा आफ्नो र पार्टीका नेताहरुको निन्द्रा खराब भएको बताउनुभयो । अध्यक्ष नेपालले नेकपा एमाले अध्यक्ष ओलीका अपराधहरुलाई जम्मा गरेर जनतासमक्ष लैजाने पनि बताउनुभयो । उहाँले केपी ओली झुटो बोल्न माहिर रहेको र जे पनि भनिदिन सक्ने आरोप लगाउनुभयो ।

अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीले नै एमसीसी परियोजनामार्फत नेपाललाई इण्डोप्यासिफिकको अंग बनाउने कुरा ल्याएको आरोप लगाउनुभयो । उहाँले आफूले त्यसको बिरोध गरेपछि अहिले अमेरिकाले इण्डोप्यासिफिकको अंग बन्ने कुरा काटेको बताउनुभयो । अध्यक्ष नेपालले ओलीको विचारमा क्रान्तिकारीता नभएको आरोप लगाउँदै दक्षिणपन्थी अवसरवादसँग ओली रहेको बताउनुभयो ।

अध्यक्ष नेपालले तत्कालीन नेकपामा ओलीले दाउपेच खेलेपछि आफूले पनि राजनीतिक दल विभाजनसम्बन्धी विधेयकमा २० प्रतिशतमा झारेर पार्टी दर्ता गराएको बताउनुभयो । उहाँले केपी ओली १४ वर्षसम्म जेल बस्नुभएको र १४ वर्षपछि केन्द्रिय कमिटीमा आएको भन्दै फुर्ति नदेखाउन चेतावनी दिनुभयो । अध्यक्ष नेपालले आफ्नो पार्टी सानो दुःखले आर्जेको पार्टी नभएको भन्दै आफ्नो पार्टीलाई हेपेको सहन नसक्ने बताउनुभयो ।

अध्यक्ष नेपालले सबै गठबन्धन मिलेर चुनावमा प्रतिष्पर्धा गरे मात्रै नेकपा एमालेलाई पराजित गर्न सकिने बताउनुभयो । उहाँले ओलीको घमण्डलाई चक्नाचुर पार्ने कुरामा नेपाली कांग्रेस पनि सहमत रहेको बताउनुभयो ।