
स्याङ्जा । प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएकै मितिमा निर्वाचन हुने भएकाले तयारी गर्न निर्देशन दिनुभएको छ ।
आज स्याङ्जाको चापाकोटस्थित नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्दे निर्वाचन प्रजातन्त्रको मेरुदण्ड भएकाले हुँदैनकी भनेर आशंका नगर्न आग्रह गर्नुभयो ।
उहाँले मुलुक निर्वाचनको संघारमा होमी सकिएकाले त्यसै अनुरुपको तयारी थाल्न पनि निर्देशन दिनुभयो । उहाँले निर्वाचन स्वतन्त्र, भयरहित वातावरणमा सम्पन्न गर्न सबैले सहयोग गर्नुपर्ने पनि बताउनुभयो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आसन्न निर्वाचनमा पनि पाँच दलीय गठबन्धन कायम रहने बताउनुभयो । उहाँले देशलाई प्रतिगमनकारीबाट बचाउनका लागि पाँच दलीय गठबन्धन जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले स्याङ्जाको चापाकोट र पाल्पाको रामपुर नगरपालिकालाई समेटेर विकास निर्माण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले कालीगण्डकी नदीको दायाँबायाँ ठूलो सहर बस्न सक्ने भएकाले कालीगण्डकी नदीमाथि आफू भौतिक तथा पूर्वाधार मन्त्री हुँदा पुल निर्माण गरेको र अरु पुल अहिले पनि निर्माणको क्रममा रहेको बताउनुभयो ।
गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले धार्मिक, पर्यटकीय एवं कृषिका क्षेत्रमा चापाकोटमा प्रचुर सम्भावना रहेकाले अलपत्र परेको कृषि क्याम्पस सञ्चालनमा जोड दिनुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार स्याङ्जापछि प्रधानमन्त्री देउवा आजै तनहुँ जाने कार्यक्रम रहेको छ।
प्रतिक्रिया दिनुहोस्