
सुनसरी । सुनसरी प्रशासनले निजी हतियार बुझाउन स्थानीयवासीसँग आग्रह गरेको छ ।
बैशाख ३० गते हुने स्थानीय निर्वाचन शान्तिपूर्वक सम्पन्न गर्नका लागि हतियार बुझाउन स्थानीय प्रशासनले आग्रह गरेको हो ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले सार्वजनिक सुचना मार्फत जिल्लावासीले अनुमति लिएर राखेका हतियार १५ दिन भित्र बुझाउन आग्रह गरेको हो ।
अनुमति लिएर घरमा राखेका निजी हतियारको दुरुपयोग हुन सक्ने भन्दै शान्ति सुरक्षा मजबुत बनाउनका लागि हतियार बुझाउन निर्देशन गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।
जिल्लाका विभिन्न स्थानीय निकायमा सर्वसाधारणले दर्ता गरेर राखेका निजी हतियार नजिकैको प्रहरी कार्यालयमा राख्न निर्देशन गरिएको हो ।
सुनसरीमा ४ सय ८८ जनाले जिल्ला प्रशासन कार्यालय सुनसरीमा अनुमति लिएर हतियार घरमा राखेका छन् । जिल्ला प्रशासनमा दर्ता गरी राखेका सबै हतियार र गोली बुझाउन निर्देशन गरिएको र अटेर गरे हतियार जफत गरिने प्रजिअ यादवले जानकारी दिनुभयो ।
निर्वाचन सकिएको महिनादिन भित्र हतियार र गोली सम्बन्धित व्यक्तिलाई नै फिर्ता गर्ने उहाँको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्