
काठमाडौं । बलिउड अभिनेता सोहेल खान आगामी महिना नेपाल आउने भएका छन् । उनी १३ अप्रिलमा नेपाल आउने भएका हुन् ।
१४ जेठमा सलमान खान कन्सर्टका लागि नेपाल आउने भएपछि त्यसको तयारी बुझ्न सोहेल पहिलै नेपाल आउन लागेका हुन् ।
सोहेल नेपाल आएर सलमानको सम्पूर्ण कार्यक्रम तय गर्नेछन् । सलमानको ‘द दबङ रिलोडेड टुर’ को स्क्रिप्ट र इभेन्टसमेत सोहेलको कम्पनीले हेर्दै आइरहेको छ ।
‘सोहेलजी इभेन्टसँग जोडिनु भएकाले उहाँले आएर तयारी बुझ्नु हुनेछ । हामी उहाँ आएपछि १४ अप्रिलमा पत्रकार सम्मेलन गरेर तयारीबारे जानकारी दिनेछौँ,’ ओडीसी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सिमान्त गुरुङले भने ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले र बलिउड अभिनेता सलमान खानसँग भएको भर्चुअल संवादपछि सोहेल खान आउने बताइएको थियो ।
१४ जेठमा दशरथ रंगशालामा हुने सलमानको ‘दबङ रिलोडेड टुर’ र ‘पर्यटन प्रवद्र्धन’ बारे भर्चुअल संवाद भएको हो ।
सलमानले आफू नेपाल आउन उत्साहित रहेको बताएका थिए । मन्त्री आलेले सलमानलाई नेपालमा स्वागत गर्न आतुर रहेको बताएका थिए ।
दशरथ रंगशालामा हुने ‘दबङ रिलोडेड टुर’ का लागि ओडीसी इन्टरटेनमेन्टले सलमानलाई नेपाल ल्याउन लागेको हो ।
ओडीसीका सिमान्त गुरुङले कार्यक्रममा ३० हजार दर्शक उपस्थित हुने बताए । कार्यक्रमका लागि पाँच हजार, १० हजार, १५ हजार र २५ हजार दरको टिकट मूल्य तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्