
काठमाडौं । मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।
बिहीबार क्वाटरफाइनलका दुई खेलसँगै सेमिफाइनल पुग्ने चार टिमको टुंगो लागेको हो । विभागिय टोली एपीएफले सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।
यस्तै अन्तिम क्वाटरफाइनलमा गण्डकी प्रदेशले बागमती प्रदेशलाई ३–० को सोझो सेटले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो । अब फाइनल प्रवेशका लागि त्रिभुवन आर्मी क्लब र एपीएफ तथा नेपाल पुलिस क्लब र गण्डकीबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले नगद चार लाख, उपविजेताले दुई लाख, तेस्रो हुने टोलीले एक लाख र चौथो स्थान प्राप्त गर्ने टिमले ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद २० हजार तथा उदयमान खेलाडी, उत्कृष्ट लिफ्टर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्सर, उत्कृष्ट सर्वर र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजारसहित पुरस्कृत गरिनेछ।
प्रतिक्रिया दिनुहोस्