
काठमाडौं । नेपालमा विकासको नमूना कस्तो हुन्छ ? जोरपाटी–साँखु सडकखण्डको रामकहानी हेरे पुग्छ ।
सडक कालोपत्रे गर्न माग गर्दै स्थानीयबासी आन्दोलित भएको पहिलो पटक होइन । तर, कथाव्यथा उही छ । नेता र ठेकेदारको मिलेमतोमा विकास विरोधी धन्दा चलाएको भन्दै कालोपत्रे नभएसम्म सडक बन्द गर्ने निर्णयमा उनीहरू पुगेका छन् ।
के बृद्ध, के बालक, के गृहिणी सबै तह र तप्काका घरलौरी मानिस प्रदर्शनमा जुटेका छन् । उनीहरूले बाँस तेर्स्याएर एम्बुलेन्सबाहेक कुनै सवारी साधन चल्न दिएका छैनन् । आफैंले मत दिएर जिताएका नेताहरूले आफ्नो दिनचर्यामाथि खेलबाड गरेको उनीहरूको आक्षेप छ ।
स्थानीयकै विरोध भएपछि २०७६ जेठ महिनामा छ महिनाभित्र कालोपत्र गर्ने सहमति भएको थियो । तर, दुई वर्ष भइसक्दा पनि सडक जस्ताको तस्तै भएपछि स्थानीय बासिन्दा सडकमा उत्रिएका हुन् ।
आक्रोशित स्थानीयले थलीचोक, मिलनचोक र थली उकालोमा बाँस तेस्र्याएर आफ्नो पीडाको अभिव्यक्ति पोखिरहेका छन् । यो बाटो सिन्धुपाल्चोकको भोटेचौर, मेलम्ची र हेलम्बू जाने प्रमुख बाटो हो ।
त्यतिमात्र हैन, माटो, बालुवा, ढुंगा र पानी बोकेर आउने ट्यांकर टिपरका कारण आफ्नो घरबास असुरक्षित भएको गुनासो गर्छन् । धुलोधुवाँले रोगव्याधको त्यस्तै झमेला छ ।
स्थानीयले पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालदेखि नेकपा एमालेका नेता रामेश्वर फुयाँललाई पटक–पटक घेराउ गरेका छन् । तर समस्या बीसको उन्नाइस नहुँदा स्थानीयको संयम तोडिएको हो ।
चुनाव आउन केही समय बाँकी रहँदा जनताको यस्तो असन्तुष्टि सकारात्मक छनक होइन ।
प्रतिक्रिया दिनुहोस्