
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेस आन्दोलनमा उठाइएको मुद्दा पुरा गर्न पुनः आन्दोलन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
बिहीबार पर्साको वीरगञ्जमा चुनाव लक्षित प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले मधेस आन्दोलनमा पीडित भएकाको मुद्दा, मधेस आन्दोलनकै ऐतिहासिक रुपमा स्थापित गराउन सकिए पनि पुरा हुन नसकेको बताउनुभयो ।
मधेस आन्दोलनमा उठाइएको केही मुद्दा सम्बोधन भएको र केही हुन बाँकी रहेकाले संषर्घ गर्नुपरेको बताउनुभयो । अध्यक्ष ठाकुरले विभिन्न किसिमको मुद्दा लगाइएका नेता अहिले पनि अदालतको तारिखमा, थुनामा र कार्यकर्ताहरु जेलमा रहेकाले अब उनीहरुलाई छोड्ने गरी संषर्घ गर्न नेताहरुलाई निर्देशन दिनुभयो ।
लोसपाका अर्का नेता राजेन्द्र महतोले अगामी दिनमा कुनै पनि पार्टीसँग निर्वाचनमा तालमेल हुनसक्ने बताउनुभयो । उहाँले आवश्यकता अनुसार जिल्लाका नेताहरुले पनि चुनावी तालमेल गर्न सक्ने जानकारी दिनुभयो । नेता महतोले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवप्रति कटाक्ष गर्दै मधेसवाद र मधेसी जनताको नाममा सिँढी चढेर सत्तामा रमाउने गरेको र मधेसको मुद्दा छोड्ने गरेको आरोप लगाउनुभयो ।
नेता महतोले मधेसमा समस्यामा परेका जनतालाई हक अधिकार दिलाउन लोसपा लडिरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्