
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आज (शुक्रबार) बस्दैछ ।
दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने केन्द्रीय समिति बैठकमा उम्मेदवारलाई टिकट दिने संसदीय समिति गठनलगायत विषयमा छलफल हुँदैछ । साथै स्थानीय चुनाव केन्द्रित घरदैलो अभियानको प्रारम्भिक समीक्षालगायत विषयमा छलफल गर्ने एजेन्डा छ ।
त्यस्तै, कांग्रेस विधान अनुसार केन्द्र, प्रदेश, जिल्ला र प्रतिनिधि सभा क्षेत्रमा संसदीय समिति बन्छन् । केन्द्रमा केन्द्रीय संसदीय समिति गठन गर्न लागिएको हो । कांग्रेसले आगामी २०७९ वैशाख ३० गते हुने स्थानीय चुनावका लागि महानगर र उपमहानगरको टिकट केन्द्रीय संसदीय समितिबाट दिने तयारी गरेको छ ।
केन्द्रीय समिति बैठक बस्नुपूर्व नै सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापालाई स्थानीय चुनाव घोषणा पत्र निर्माण समिति संयोजक तोक्नुभएको छ । देउवाले रिक्त रहेका भातृ संस्थाका नेतृत्वमध्ये नेविसंघ र तरूण दलमा अध्यक्ष पनि तोक्नुभएको छ ।
यता, केन्द्रीय समिति बैठक बस्नुपूर्व धारणा बनाउन रामचन्द्र पौडेलले पनि आफूनिकट नेताहरूको भेला राखेका छन् । यसअघि शेखर कोइराला पक्षको पनि भेला भएकोथियो ।
प्रतिक्रिया दिनुहोस्