
कुनै पनि सर्जकले आफ्नो मर्जीले आफूले देखेको सत्य उद्घाटन गर्न व्यञ्जना शक्तिको मात्रै प्रयोग गर्दैन । लक्षणा र अविधा माध्यमको पनि प्रयोग गर्छ । सर्जकलाई जे गर्दा आनन्द लाग्छ उसले सो कर्मद्वारा, जुनसुकै माध्यमबाट आफूलाई अभिव्यक्त गर्छ । भलै उसको कला र अभिव्यक्ति कमसल होस् या असल बनोस् ऊ पोखिन चाहन्छ । उसलाई पोखिनुको मजा चाहिन्छ । हो, कोही असल भएर पोखिन्छ्न् कोही कमसल भएर । कोही प्रगतिशील भएर पोखिएलान् कोही अगतिशील भएर । कोही अग्रगामी छलाङ्ग मार्न सिर्जना कर्ममा लाग्लान् कोही पतनशील बनेर नै भए पनि कर्म गर्लान् ? त्यो उनीहरूको रोजाई र स्वतन्त्रता भयो ।
जातीय दङ्गा, धार्मिक सहिष्णुतामा खलल, देश बिखण्डन र कुनै अरू संवेदनशील मुद्दा जसले देशलाई नै क्षति गराउँछ त्यो बाहेक सिर्जनालाई बन्देज निषेध र रोक लगाउनु वाञ्छनीय देखिन्न । तर जसले लेख्ने बोल्ने र सङ्घ सगंठन गर्ने स्वतन्त्रतालाई आफ्नो अभिष्ट बनायो उसैले एउटा कलाकर्मीको सिर्जनामा रोक लगाउन दादागिरी देखाउनु बौद्दिक गुण्डगर्दी गर्नु कति असुहाउदो कुरा हो । यस पटक कलाकार प्रकाश सपुत पनि त्यस्तै चपेटामा परे धम्की र निषेधको बलजफ्तीमा परेर प्रकाशले आफ्नो सिर्जनालाई जस्ताको तस्तै प्रस्तुत गर्न सकेनन् । उनले आफ्नो म्युजिक भिडियोको सिनमा फेर बदल गर्नु पर्यो । यद्यपि प्रकाशको सिर्जना र निर्णय सही गलत त्यो समयले फैसला गर्छ । उनले जे सिर्जना गरे जस्तो देखाउन खोजे त्यो हाम्रो समयको एउटा विडम्बना युक्त सत्य हो । लुकाउँदा–लुकाउँदै देखिएको सत्य । डोकोमा छोपिएको सत्य । तथापि उनको त्यो सत्य एउटा राजनीतिक दललाई पचेन । उसको आत्म सम्मानमा चोट पुग्यो । स्वाभिमानमा ठेश लाग्यो । तव उसले तालिवानी शैलीमा फतवा जारी गर्यो । धाक धम्कीको शृंङ्खला चलायो । देशमा प्रकाश सपुतको सिर्जनाको समर्थन र विरोधमा हल्ली खल्ली मच्चियो । उनलाई जातीय विभेद युक्त गालीदेखि नामी कलाकारको पगरी गुथाइने दुवै गरियो । प्रकाश पहिले पनि ‘गलबन्दी च्यातियो तिमीले तानेर’ भन्ने गीतमा चोरीको आरोपमा विवादित पनि बनेका थिए ।
जतिबेला उनलाई तल्लोस्तरको गालीगलौज गरियो । घृणित आरोप गरियो । तर यतिबेला त्यो अवस्थामा कमी आएको छ । उनलाई जातीय विभेदको गाली कम गरियो यो एउटा सकारात्मक पक्ष हो । सामाजिक रुपमा मान्छेलाई मान्छेले गरिने विभेदमा आएको कमी हो । यसले खुशीको संचार गराएको छ । तर राजनीतिक रङ्ग दिएर जुन अपमान घृणा र गाली गरियो असहिंष्णु व्यवहार गरियो निषेध र प्रतिशोधको कुरा गरियो त्यो खेद जनक छ । पिरले समाजको बिम्ब उजागर गरेको हो । समस्याको उठान गरेको हो । पिर समग्रता होइन, तर कतिपय पात्रहरूको विवशता र बाध्यताको सुक्ष्म निरीक्षण पनि हो । समग्रता भनेर पिरलाई बुझ्नु माओवादी समर्थकहरूको दृष्टिदोष र दृष्टि भ्रम अनि आलोचना सहन नसक्ने यथार्थ पचाउन नसक्ने निरंकुश प्रवृति हो । कम्युनिष्ट कल्चर र जीनको प्रभाव पनि हो । कतिपय कुरालाई आँखा चिम्लेर नै पचाउनु र अनदेखा गर्नु पर्ने हुन्छ । आफ्नो समर्थन हुँदा जस्तो पनि सुन्न सक्ने र विरोधको नाम सुन्ने बित्तिकै निषेधको तरवार दुवै कमसल विचार हुन् । आत्मश्लाघा मन पराउनेलाई आलोचनाले बाटो देखाउँछ । त्रुटि सुधार गर्न मद्दत गर्छ भन्ने हेक्का हुँदैन । यद्यपि माओवादी केन्द्रका अरु नेता र वर्गीय सङ्गठनले आपत्ति प्रकट गरे पनि प्रचण्ड आपेक्षाकृत संयम र सन्तुलित बनेर निस्किए जुन उनलाई परिस्थितिले सिकाएको अनुभव र परिपक्व बन्दै गरेको उनको व्यक्तित्व भनेर बुझ्न सकिन्छ ।
शब्द आफैमा शक्ति होइन । शब्द संयोजन कलामा शक्ति हुन्छ । शब्द धारिलो देखिने, शब्द संयोजन कलाले गर्दा हो । हिजो पशुपति शर्माको गीतलाई निषेध गर्नेहरू आज प्रकाश सपुतको समर्थनमा वक्तव्यबाजी गर्दैछन् । अनि केही समालोचक भन्दैछन् यस्तो हुनुपथ्र्योे र यस्तो हुनुपर्छ । खोट रहित र त्रुटि रहित वस्तु संसारमा के होला ? यस्तो हुनुपर्छ भन्नेले कुनै त्यस्तो निर्विवादित रचना गरेर देखाए कति जाती हुन्थ्यो । सिद्धान्त बुझेका,सिद्धान्त निष्ठको खोट रहित सिर्जना र प्रस्तुति हेर्न पाए गज्जब हुन्थ्यो । कलालाई कलाका दृष्टिबाट हेर्नु वाञ्छ्नीय हुन्छ । कलालाई वाद, स्वार्थ र पूर्वाग्रहका आँखाले हेर्नु हुन्न । पात्र समाजबाट नै छनौट हुने हो । कतै न कतै कसैलाई न कसैलाई नदुखाउने नबिझाउने कुरा अस्तित्व नभएको चिज मात्र हो । अस्तित्व भएको चिजमा हृदय छुने, मन दुखाउने दुवै गुण रहन्छ । रचनाको अब्बलता र कमसल कुराको उग्र समर्थन र कडा निन्दा र विरोध गर्न सकिन्छ त्यसको वैचारिक भाष्यलाई काउन्टर दिन अर्को भाष्य निर्माण गर्न सकिन्छ । तर प्रशासनिक दमन, पार्टीको उर्दी र गुण्डाराज अभिव्यक्ति स्वतन्त्रताको खिलाफमा भएकोले यसलाई बन्द गर्ने, थुनछेक गर्ने र प्रशारणमा जबर्जस्ती गरेर बन्द गर्न पाइदैन । जुन कुरा संविधान प्रदत्त अधिकारको विरुद्द हुनजान्छ ।
कथित समालोचकको पगरी भिरेका महोदयहरू तपाईंहरूको कुन त्यस्तो सिर्जना छ जो सर्वस्वीकार्य र सर्वमान्य अनि यत्तिकै चर्चा र छलफलको विषय बनेको होस् ?
खोट देखाउनु र सिर्जनात्मक हुनु फरक कुरा हुन् । सर्जकको स्वतन्त्रतामा बाधा हाल्नेहरू स्वतन्त्रताका पक्षधर कठै देश ! कठै बुद्धिजीवी !! कठै प्राज्ञिक निष्कर्ष !!! अझ विडम्बना त के रह्यो भने पशुपति शर्माको ‘लुटन सके लुट कान्छा’को कन्दनी कसेर बिरोध प्रतिवाद र जिल्ला जिल्लामा निषेधको उर्दी जारी गर्नेहरू प्रकाश सपुतको सिर्जनात्मक स्वतन्त्रताको पक्षमा उभिएको देखियो । यसबाट दुई कुरा बुझ्न सकिन्छ । प्रथम कुरा लेखकीय स्वतन्त्रता सिर्जनात्मक कलालाई बन्देज गर्नु हुन्न हिजो बन्देज गरेर गलत गरियो तसर्थ आज प्रकाशको समर्थन विगतको भुल सुधार र माफी मगाइ हो । दोश्रो आज कुनै अमुक पार्टीको विरोधमा हो हाम्रो विपक्षमा होइन त्यसैले समर्थन गरिन्छ । नैतिकता इमान र नीतिका कुरा हो भने हरेकले सिर्जनात्मक कला र विचारलाई बन्देज गरेर होइन त्यसको तार्किक खण्डन गरेर आफ्नो भाष्यलाई स्थापित र प्रमाणित गर्नुपर्छ ।
खोट छ भन्न राजालाई नि पाइँदैनथ्यो गणतन्त्रमा पनि खोट देखाउनेलाई निषेध गर्ने अनेक तर्क गरिन्छ । निषेध खोट लुकाएर राख्नेलाई पो गर्नु हो । खोट देखाइ दिनेलाई धन्यवाद सहित कमजोरी सुधार्ने प्रतिज्ञापत्र जारी गर्ने संस्कार हुनुपर्छ, तव मात्र अभिव्यक्ति स्वतन्त्रताको सम्मान र मर्यादा रहन्छ । साहित्य कला संस्कृति समाजलाई हेर्ने ऐना हो । समाज सहित्यकलामा प्रतिबिम्बन भएको हुन्छ । गीत संगीत र कलामा दम हुन्छ । शब्दले घाउ नबनाएर नै मुटुमा प्वाल पार्ने ल्याकत राख्दछ । शब्द कलाले मुटु हल्लाउँछ र दुखाउँछ पनि । त्यसैले गायिका सोफिया थापाको गीतले हिन्दु आतिवादीको मुटु दुखाएको थियो । गायिक ज्योति मगरको गीत र नाचले समाजलाई कान थुन्न र आँखा चिम्लन परेको थियो । भिटेनको गीतले प्रहरी र प्रशासनको टाउको दुखेको थियो । पशुपति शर्माको गीतले ओली राजको निन्द्रा लुटेको थियो भने प्रकाश सपुतको गीतले माओवादी केन्द्रका नेताहरूको कमजोरी छताछुल्ल पारेको छ । कलाकार आफैमा संवेदनशील र मर्यादित हुनुपर्छ । कलाले दिने सन्देशमा आग्रह पूर्वाग्रह सकभर हुनुहुन्न । नैतिकता कलाकारले समाजलाई पस्कनु पर्छ ।
पिर गीत र भिडियो परस्परमा बाझिएका छन् । गीतको सन्देश र दृश्यले एकात्मकता राख्दैनन् । टिपिकल गाउँले लवजमा बुनिएको गीत भएर तिम्रो मायाले पिर दियोले सबैको ध्यान केन्द्रित गरेको र भिडियोको दृश्य माओवादी लडाकुको दुःखदायी स्थिति र विडम्बनायुक्त अवस्था भएकोले सबैको मन छोएको हो । तर दृश्य र गीतमा संगति छैन संगीत छ । एउटा कलाकारले गाएको गीतबाट तर्सने डराउने र चौपट भएको ठान्ने हतास मनस्थिति चै कमजोरी नै कमजोरीको चाङ् र चंगुलमा उभिएको धरातल भनेर बुझ्न सकिन्छ । पिर गीतको कमसल रचनाले बनोटले पनि यस्तरी हिर्काउने सामथ्र्य राख्छ भने अब्बल रचना र सिर्जनाले कति दुखाउँदो हो ? मुर्छित र मर्न नै बाध्य पार्दो हो ? कला माथिको निरङ्कुश डण्डा चल्नुको पछाडि शासक र शासन गर्नेको दुर्वलता र निरीहता देखिन्छ । तथापि सिर्जनालाई परख गर्ने आँखा सिर्जनात्मक नै हुनुपर्छ प्रशासनिक र राजनीतिक होइन ।
प्रकाश भलाद्मी कलाकार हुन् उनले आपत्तिजनक लाग्ने दृश्य झिके । तर उनी चलाख कलाकार र व्यापारिक दिमाग भएका मान्छे हुन् । आफ्नो गीतको व्यापार मज्जाले गरे । विवादको चरम उत्कर्षसम्म पर्खेर विवादित सिन हटाउनु पनि व्यापारिक पोलिसी नै हो ।
प्रतिक्रिया दिनुहोस्