१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कपालभाँती प्राणायामको फाईदा के छ ?


481
Shares

कपालभाँती संस्कृत शब्द हो । कपालको अर्थ मस्तक, शिर, खप्पर हो भने भाँती भनेको चम्काउनु हो । कपालभाँती प्राणायाम भन्नाले मस्तक चम्काउने प्राणायाम भनेर बुझिन्छ । यो हठ योगको षटकर्म मध्यको एक कर्म हो । जसले शरीरलाई डिटक्स अर्थात निर्बिषिकरण गर्ने कार्य गर्दछ । शरीरमा रहेका हानीकारक तत्वलाई बाहिर निकाल्ने कार्य गर्दछ । कपालभाँतीलाई अनुहार चम्काउने प्राणायाम भनिन्छ । आजभोली कपालभाँती जीबन साथी भन्न थालिएको छ । अझ कपालभाँती प्राणायामलाई अग्नि जगाउने प्राणायाम पनि भनिन्छ । कपालभाँती प्राणायामले शरीरको अत्यधिक मात्रामा रहेको बोसोलाई कम गर्छ जसले गर्दा मोटोपन घटाउन निकै उपयोगी मानिन्छ ।

सासको ब्यायाम भएकाले यसले फोक्सोको कार्यक्षमता वृद्धि गर्दछ । नाडीलाई शुद्धिगर्न मद्दत गर्दछ । यसले अल्छीपनलाई कम गर्दछ । यसले शरीरमा पाचनप्रणालीलाई मजबुत पार्दछ । यसले कलेजो, आँत, अग्नाषय, गर्भाशय, मलद्वार आदिमा दबाब दिने भएकोले यसमा सकरात्मक प्रभाव पार्दछ । पेटको मांशपेशीलाई मजबुत बनाउने र मधुमेहको व्यवस्थापनमा सहयोग गर्दछ । पाचन प्रक्रियालाई सक्रिय बनाउने भएकोले हामीले खाएको खानालाई राम्रोसँग पचाउने कार्य गर्दछ । मनलाई शान्त पारिदिन्छ । तनाव घटाउँछ । शरीरलाई तताउने काम गर्दछ । कपालभाँती प्राणायामले एकाग्रतामा वृद्धि गर्दछ । कपालभाँती प्राणायामले शरीर, प्राण र मनलाई राम्रो गर्छ र हाम्रो शरीरलाई फुर्तिलो बनाउँछ । यसले मानव संवेदनशिलतामा बृद्धि हुन गई व्यक्तिको चेतनास्तर माथि उठ्छ र यसले उच्च दिव्य एवं सुक्ष्म तरंग ग्रहणशील हुन्छ । यसका साथै सम्पूर्ण स्वास्थ्य प्राप्ति हुन्छ । कपालभाँती प्राणायामले कुण्डलिनी जागरणमा सहयोग गर्छ ।

कपालभाँती प्राणायाम गर्दा ध्यानदिनु पर्ने कुरा र सावधानीहरु

कपालभाँती प्राणायाम गर्दा धेरै सावधानी अपनाउनु पर्दछ । कुन अवस्थामा यो प्राणयाम गर्ने र नगर्ने भन्ने कुराको ज्ञान हुन जरुरी छ । जसरी कपालभाँती प्राणायामका धेरै फाईदाहरु छन्, त्यसैगरि बिधिपूर्वक र सावधानी नपुर्‍याई गर्दा उल्टो क्षति हुन पुग्दछ । उच्च रक्तचाप, हृदय रोग, हर्निया, अल्सर, रिङ्गटा लाग्ने, पेटका अल्सर, ढाडको नसा च्यापिएको, गर्भावस्था, महिनावारी, हालसालै गरिएको पेटको शल्यक्रिया जस्ता समस्या भएकाले यो प्राणायाम गर्नु हुँदैन । यदि गर्ने नै हुँदा बिशेषज्ञको सल्लाह अनुसार गर्नुपर्छ । यो प्राणायाम गर्दा अनुहार बिगार्ने,बढी दवाब दिने, मुखबाट श्वासलिने जस्ता कार्यहरु गर्नु हुदैन । कपालभाँती प्राणायाम गर्दा खाना खाएको कम्तिमा पनि ३ घन्टा पछि मात्र गर्नु पर्दछ । अर्थात खालीपेट हुनु पर्दछ ।

साथै स्वास सम्बन्धी समस्या भएको अवस्थामा विज्ञको परामर्श लिएर मात्र गर्ने । कपालभाँती प्राणायाम गर्दा शरीरमा अत्यधिक दबाब पर्ने भएकोले कानको समस्या भएकाले गर्नु हुदैन ।

कपालभाँतीको लागि बिधि

कपालभााती प्रणायाम गर्दा कुनै पनि सजिलो आशनमा बस्नुपर्छ । सुखासन, ब्रज्रासन, सिद्दासन आदि । यदि कुनै पनि आशन थाहा नभएमा पँलेटि कसेर बस्दा हुन्छ । ढाड, गर्धन सिधा पारेर दुबै हातलाई सजिलो पारेर घुँडामा राख्ने, सुरुमा आँखा खुल्ला राखेपनि बिस्तारै आँखा बन्द गरेर अभ्यास गर्नु पर्दछ । नाकबाट जोडले श्वासलाई बाहिर फाल्नुपर्छ ।

नाकमा केहि अड्केको बस्तुलाई स्याँक्क गरेर बाहिर फालेको जस्तै गरेर श्वासलाई बाहिर फ्याक्नुपर्छ । त्यतिखेर श्वास बाहिर फ्याक्दा पेट भित्र दबेको हुन्छ । भस्त्रिकामा हामीले श्वास जोडले लिने र जोडले फ्याक्ने गर्छौ भने कपालभाँतीमा जोडले फ्याकिदिने गर्दछौ भने श्वासलिने क्रिया स्वत हुन्छ अथवा स्वासभित्रलिने चिन्ता गर्नु पर्दैन । यो आफसेआफ हुन्छ । केवल मुख बन्द गरेर नाकबाट जोडले श्वासलाई बाहिर मात्र फ्याँकिदिने गर्नुपर्छ । पूरै ध्यान श्वास जोडले बाहिर फ्याक्नेमा लगाउनुपर्छ । यसलाई एक सेकेन्डमा एक पटक फ्याक्ने गरेर एकमिनेटमा ६० पटक सम्म पनि गर्न सकिन्छ भने अझै छिटो गर्दा एक सेकेन्डमा दुईपटक स्वास फ्याक्ने गरेर एकमिनेमा १२० पटक सम्म गर्न सकिन्छ । यसरी गर्दा एक राउन्ड सकेपछि गहिरो श्वास र गहिरो प्रश्वास लिएर आराम गर्नुपर्छ । यसो गर्दा आफ्नो शरीरमा आएको परिबर्तन महशुस गर्न सकिन्छ । शरीरबाट बिभिन्न बिषाक्त पदार्थहरु बाहिर गएको महशुस गर्न सकिन्छ । शरीर हल्का भएको सम्झनु र अनुभव गर्ने । यो प्रक्रियालाई पाँच देखि १० पटक सम्म गर्न सकिनेछ ।