
बारा । फ्रेण्ड्स क्लबलाई स्तब्ध पार्दै धनगढीको सुदुरपश्चिम ११ ले जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपमा विजयी सुरुवात गरेको छ ।
सिमरा रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा सुदूरपश्चिमले फ्रेण्डसलाई ३–१ ले पराजित गरेको हो । जीतसंगै सुदूरपश्चिम प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरको छ
सुदूरपश्चिमको जीतमा धनराज थापा, दिपांकराज सिंह र फागुराम थारुले समान एक=एक गोल गरे । फ्रेण्डस्का लागि प्रेमबहादुर भण्डारीले एक गोल फर्काए ।
खेलको सुरुवातदेखी फ्रेण्ड्सविरुद्ध आक्रामक देखिएको सुदूरपश्चिमले २२औं मिनेटमा अग्रता लिएको थियो । डिबक्स भित्रबाट धनराजले प्रहार गरेको बलले सिधै जाली चुमेको थियो ।
सुदूरपश्चिमविरुद्ध खासै अवसर बनाउन नसकेको फ्रेण्ड्सको फिनिसिङ पक्ष कमजोर देखियो । पहिलो हाफमा अग्रता लिएको सुदूरपश्चिमले दोस्रो हाफको सुरुवातमै गोलअन्तर दोब्बर पारेको थियो ।
५४औं मिनेटमा दिपांकराज सिंहले प्रहार गरेको बल फ्रेण्डस्का गोलरक्षक अभिशेक बरालले सहजै नियन्त्रणमा लिन खोज्दा जाली चुम्न पुगेको थियो । डिबक्स बाहिरबाट थापाले प्रहार गरेको बल बरालको हातबाट फुस्किएर गोल भएको हो ।
खेलमा लगातार अवसर बनाएको सुदूरपश्चिमविरुद्ध खेलको ८२औं मिनेटमा गोल गर्दै फ्रेण्ड्सले खेल २–१ को स्थितीमा ल्याएको थियो । फ्रेण्ड्सका प्रेमबहादुर भण्डारीले करिब ३० यार्ड टाढाबाट प्रहार गरेको बलले सिधै जाली चुमेको थियो ।
भण्डारीको आकर्षक गोलबाट फ्रेण्ड्सले खेलमा फर्कन खोजेपनि सुदूरपश्चिम लगत्तै तेस्रो गोल थपेको थियो । फ्रेण्ड्सले गोल गरेको एक मिनेटमै सुदूरपश्चिमका फागुराम थारुले गोल गरेका हुन् ।
८३औं मिनेटमा फ्रेण्ड्सको कमजोर रंक्षापक्तीको फाईदा उठाउदै फागुरामले सुदूरपश्चिमका लागि गोल गरेका थिए । उनको गोलसँगै सुदूरपश्चिमले फ्रेण्ड्समाथी ३–१ को सहज जीत निकालेको हो ।
खेलको म्यान अफ दि म्याच सुदुरपश्चिमका दिपांकराज सिंह घोषित भए । उनले नगद पाँच हजार र ट्रफि प्राप्त गरे ।
प्रतियोगिताको उद्घाटन मधेसका प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्