२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


‘बजेटले निजी क्षेत्रको समस्या समाधानलाई प्राथमिकता दिनुपर्छ’


65
Shares

काठमाडौं । उद्योगी, व्यवसायीहरूले आगामी आर्थिक वर्षको बजेटले निजी क्षेत्रको समस्या समाधानलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले आगामी बजेटका सम्बन्धमा निजी क्षेत्रसँग गरेको छलफलमा उनीहरुले आगामी बजेटले निजी क्षेत्रको विद्यमान समस्या समाधान गर्नुपर्नेमा एकमत जनाए ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय समिति सदस्य सन्दीपकुमार अग्रवालले आगामी बजेटमा निर्यात प्रवद्र्धन र आयातलाई प्रतिस्थापन गर्नुपर्ने बताउनुभयो । उहाँले विदेशी मुद्रा आर्जनको आधार तयार गर्न ऊर्जा, पर्यटनलगायतका क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

अग्रवालले हरेक नेपालीको वैध सम्पति एकपटक राज्यले अभिलेखिकरण गर्नुपर्ने बताउनुभयो ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले करको दायरा बढाउनुपर्ने र बैंक व्याजको ठूलो समस्या रहेको भन्दै व्याजदरलाई व्यवस्थित गर्न आवश्यक रहेको बताउनुभयो ।

चेम्बरका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले राष्ट्र बैंकको नीतिले निजी क्षेत्र हतोत्साही भएको बताउनुभयो । निजी क्षेत्रलाई हतोत्साही बनाएर आर्थिक समृद्धिको कल्पना गर्न नसकिने उहाँले बताउनुभयो ।

होटल संघ नेपालकी अध्यक्ष सिर्जना राणाले होटललाई उत्पादनमूलक उद्योग सरहको सेवा, सुविधा प्रदान गर्न सरकारसँग माग गर्नु भयो । होटलको लगानीको आकार हेरी पुर्नकर्जाको सीमा २० करोडको दायराबाट बढाउनुपर्ने उहाँको तर्क छ ।