
राजेन्द्र प्रकाश ढकाल
काठमाडौं । रुस र युक्रेनबीच युद्ध सुरु भएको एक महिना पूरा भएको छ । धेरैको आँकलन थियो रुसको सामु युक्रेन छिट्टै नै गल्ने छ । तर, युक्रेन आणविक हतियार सम्पन्न रुसको सामना गरिरहेको छ ।
युक्रेनले रुसी आक्रमणको दृढतापूर्वक सामना गरिरहेको छ । रुसले आक्रमण गरेलगत्तै पश्चिमा देश र नेटोसँग युक्रेनले गुहार मागे पनि उनीहरू युद्धमा प्रत्यक्ष रुपमा सामेल भएनन् । यद्यपि परोक्ष सहयोग भने जारी छ । आखिर यूक्रेन शक्ति सम्पन्न रुससँग कसरी लडिरहेको छ त ?
पहिलो कुरा रूस र यूक्रेनका सेनाको मनोबलमा ठूलो अन्तर देखिएको छ । युक्रेनी नागरिक आफ्नो देशको अस्तित्वका लागि लडिरहेका छन् । उनीहरू आफ्नो देशलाई सम्प्रभु राष्ट्रको रूपमा देख्न चाहन्छन् ।
युक्रेनका नागरिक आफ्नो सरकार र राष्ट्रपतिको साथ खडा छन् । सैनिक तालिम नलिएका नागरिक पनि हतियार उठाएर शहरको सुरक्षाका लागि मैदानमा उत्रिएका छन् । आदेश र नियन्त्रणमा पनि युक्रेनी संयन्त्र सफल देखिएको छ ।
धेरैको अनुमान थियो– रुसी साइबर आक्रमणले युक्रेनको सञ्चार संयन्त्र पूर्ण रूपले बर्बाद हुनेछ । तर त्यस्तो भएन । जसका कारण युक्रेनले युद्ध मोर्चामा प्रभावकारी समन्वय राख्न सफल भएको छ । रुसी सेनामा अलग–अलग मोर्चाबीच समन्वय नहुँदा मनोबलमा नकारात्मक प्रभाव परेको अनुमान छ ।
युक्रेनको सैनिको संख्या रुसको तुलनामा निकै कम छ । फेरि पनि युक्रेनले आफ्नो भूमी र हतियारको प्रयोग रुसले भन्दा निकै कुशलताका साथ गरेको बताइन्छ । रुसी सेना र सैन्य बहानको सुस्त गतिको लस्कर अघि बढिरहँदा युक्रेनले छापामार तरिकाले युद्ध गर्दा रुसलाई सोचेजस्तो सहज भएको छैन ।
सूचनाको मोर्चामा पनि युक्रेन सफल देखिएको छ । पश्चिमा शक्ति राष्ट्रहरूले युक्रेनको प्रयास र शक्तिलाई पूरै विश्वभर फैलाइरहेका छन् । उनीहरूको नजरमा युक्रेन जिततर्फ उन्मुख छ । यद्यपि रुसमा यो कुरालाई भने पत्याइँदैन । किनकी त्यहाँ अधिकांश मिडियामाथि क्रेमलिनको नियन्त्रण छ ।
एक महिनासम्म गर या मरको स्थितिबाट गुज्रिरहेको युक्रेन युद्धमा माथि पर्न अझै चुनौति झेलिरहेको छ । ठूलो संख्यामा रूसी सैनिकको उपस्थिति यूक्रेनलाई झेल्न गाह्रो परिहेको छ ।
अन्तर्राष्ट्रिय मामिलाका जानकारहरू पश्चिमा देशबाट युक्रेनले पाइरहेको हतियारको आपूर्ति रोकिए युक्रेन लामो समयसम्म रुसको सामु नटिक्ने अनुमान पनि लगाउँ छन् । -एजेन्सीको सहयोगमा
प्रतिक्रिया दिनुहोस्