१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


अमेरिकी सेना नेपालमा आएर बस्नसक्छ : अध्यक्ष विजुक्छें


468
Shares

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें (रोहित)ले अमेरिकी सेना नेपाल आएर बस्नसक्ने बताउनुभएको छ ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माविको २२औं, ख्वप कलेजको २०औं र शारदा क्याम्पसको ३१औं वार्षिक उत्सवको उद्घाटन गर्दै विजुक्छेंले नेपाललाई नाटोको सदस्य बनाइए अमेरिकी सेना नेपाल आइ बस्न सक्ने बताउनुभएको हो ।

एमसीसी पास गरेसँंगै नेपाललाई नाटोको सदस्य बनाउन खोजिएको भन्दै उहाँले यसो गरिए नेपालमा अमेरिकी सेना आएर बस्ने तर्क गर्नुभयो । आफ्नो पार्टीले एमसीसीविरुद्ध निरन्तर संघर्ष गर्दै जाने बताउँदै उहाँले एमसीसीले नेपाललाई खतम पार्नेमा कुनै शंका नभएकोसमेत बताउनुभयो ।

कार्यक्रममा संघीय सांसद प्रेम सुवाल, बागमती प्रदेशका सांसदद्वय सुरेन्द्रराज गोसाई, सृजना सैंजू, विश्वविद्यालय अनुदान आयोगका उपाध्यक्ष प्राडा भीमप्रसाद सुवेदी, भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, भक्तपुरका एसपी शिवकुमार श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा उत्कृष्ट विद्यार्थी, वार्षिकोत्सवको अवसरमा भएका बिभिन्न खेलकुद प्रतियोगिताका विजयीहरूलाई पनि पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । औपचारिक कार्यक्रमपछि पुस्तक प्रदर्शनी, शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक प्रतियोगितासमेत भएको थियो ।