
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) निर्वाचनमा मिलिदिए के गर्ने ? भन्दै प्रश्न गर्नुभएको छ ।
पाँच दलीय गठबन्धन कायमै गरेर जानुपर्ने अडान राख्दै आएको बेला पार्टी भित्रबाटै गठबन्धन नगर्न दबाव बढेपछि सभापति देउवाले गठबन्धनका विपक्षीहरूलाई यस्तो प्रश्न गरेका हुन् ।
विपी स्मृति सामुदायिक सहकारी अस्पतालको १४औं बार्षिक साधारण सभालाई शनिबार सम्बोधन गर्दै उहाँले सभापतिको जिम्मेवारी सबै नेतालाई जिताउनुपर्ने भएकाले सो जिम्मेवारी बहन गर्न गठबन्धन गर्न खोजेको बताउनुभयो ।
‘पार्टी सभापतिको हैसियत त पार्टीले जितोस्, नेताहरू सबैले जितुन् भन्ने नै रहन्छ, त्यसका लागि जे पनि लागिपर्ने हुनजान्छ,’ देउवाले भन्नुभयो, ‘निर्वाचनमा एमाले र माओवादी फेरि मिलेर चुनावमा गए भने के हुन्छ ? फेरि पार्टीलाई हराउने ?’
विगतमा कांग्रेस पार्टीले पराजय भोग्नु परेको उल्लेख गर्दै देउवाले पार्टी र पार्टीका नेतालाई जिताउनका लागि आफूले गठबन्धन गर्न खोजेको तर्क गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्