
अर्घाखाँची । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फ भुसालले दुई वर्षभित्र राष्ट्रिय प्रसारण लाइन देशभरी विस्तार गर्ने बताउनुभएको छ ।
नेपाल विद्युत प्राधिकरण बुर्तिबाङ्ग–पौदी–अमराई–तम्घास सन्धिखर्क गोरुसिङ्गे १३२ केभी प्रसारण लाइन आयोजना अन्तर्गत मोतिपुर सन्धिखर्क १३२ केभी सवस्टेशनको उद्घाटन गर्दै मन्त्री भुसालले यस्तो बताउनुभएको हो ।
देशको अर्थतन्त्रलाई टेवा पुग्ने जुनसुकै उद्योग धन्दा खुले पनि विद्युत् प्राधिकरणले पर्याप्त मात्रामा विद्युत् दिन तयार रहेको उहाँले बताउनुभयो ।
यस्तै, सरकारले उत्पादनमा जोड दिइरहेको भन्दै मन्त्री भुसालले हरेक क्षेत्रमा सिंचाइको सुविधा पुर्याइने प्रतिबद्धता जनाउनुभयो ।
सन्धिखर्कमा निर्माण भएको सबस्टेशनले अर्घाखाँची, गुल्मी, प्युठान, बाग्लुङ लगायतका क्षेत्रमा विद्युत् आपुर्तिमा सहज हुने मन्त्री भुसालको भनाइ छ ।
नेपाल विद्युत् प्राधिकरणका प्रमुख कुलमान घिसिङले देशका ९५ प्रतिशत ठाउँमा विद्युतको पहुँच पुगेको दाबी गर्दै लुम्बिनी र कर्णाली प्रदेशका केही भागमा विद्युत् पुग्न बाँकी रहेको बताउनुभयो ।
बाँकी क्षेत्रहरूमा पनि विद्युत् आपूर्तिका लागि प्राधिकरण प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्