२५ चैत्र २०८१, सोमबार | Tue Apr 8 2025


अन्तर्राष्ट्रिय एकदिवसीय श्रृंखला पिएनजीद्वारा क्लिन स्वीप

दोस्रो खेलमा पनि नेपाल पराजित

325
Shares

काठमाडौं । नेपालविरुद्धको अन्तर्राष्ट्रिय एकदिवसीय श्रृंखला पपुवा न्यूगिनी (पिएनजी)ले क्लिन स्वीप गरेको छ ।

त्रिवि क्रिकेट मैदान किर्तिपुरमा शनिबार भएको दोस्रो खेलमा नेपाललाई ३ विकेटले पराजित गर्दै पिएनजीले श्रृंखला क्लिन स्वीप गरेको हो ।

शुक्रबार भएको पहिलो खेलमा नेपाल ६ रनले पराजित भएको थियो।

शनिबार दोस्रो खेलमा नेपालले दिएको २ सय ७९ रनको लक्ष्य पिएनजीले ८ बल बाँकी छँदै पूरा गर्‍यो ।

उसका लागि लेगा साइकाले १२ चौका र १ छक्काको मद्दतले सर्वाधिक ९० रन बनाए ।

चार्ल्स अमिनीले ३५, हिरी हिरीले १३, नोर्मान भानुले ११, टोनी उराले ९ र कप्तान असद भाला शून्य रनमा आउट हुँदा रिले हेकुरे र चाड सोपरले क्रमशः नटआउट ३८ र १६ रन बनाए ।

नेपालका सोमपाल कामीले तीन, पवन सर्राफले दुई तथा सन्दीप लामिछाने र आरिफ शेखले समान एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७८ रन बनाएको थियो ।

नेपालका दिपेन्द्रसिंह ऐरीले पहिलो अन्तर्राष्ट्रिय शतक प्रहार गरे पनि टीमलाई हारबाट टार्न सकेन । उनले १ सय ४० बलमा ७ चौकाको मद्दतमा १ सय ५ रन बनाए ।

देव खनालले ७२ रनको पारी खेल्दा रोहित पौडेल ३५, भिम सार्की २६, आरिफ शेख ४ रनमा आउट भए ।

पवन शर्राफ र कुशल भुर्तेल पहिलो बलै आउट हुँदा अनिल शाह दोस्रो बलमा पेभेलियन फर्किए । सन्दीप लामिछानेले ९ बलमा २४ रनमा अविजित रहँदा सोमपाल कामीले पनि अविजित रहँदै ३ रन बनाए ।

पिएनजीका अलि नाओले तीन, नोर्मान भानुले दुई तथा चाड सोपर र चार्ल्स अमिनीले समान एक–एक विकेट लिए ।