१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


प्रतियुनिट ३८ रुपैयाँको बिजुली बाल्दै नेपाली


273
Shares

काठमाडौं । कोइला प्लान्टबाट बिजुली उत्पादन गर्ने भारतमा अत्यधिक मूल्यवृद्धि भएपछि त्यसको प्रत्यक्ष प्रभाव नेपालमा परेको छ । नेपाल विद्युत् प्राधिकरणले प्रतियुनिट ३८ रुपैयाँमा आयात गरेको बिजुली उपलब्ध गराइरहेको छ ।

‘इनर्जी एक्सचेञ्ज मार्केट’ मा लगातार बिजुलीको भाउमा वृद्धि भएपछि त्यसले पारेको प्रभाव कति समयसम्म जान्छ भन्ने कुनै अनुमान गर्न सकिँदैन । तर नेपालका लागि भने यस्तो जटिलता आगामी डेढ महिनाका लागि मात्रै भएको प्राधिकरणको भनाइ छ ।

वर्षाको समयमा बिजुली खेर जाने, हिउँदको समयमा आयात गर्नुपर्ने बाध्यात्मक अवस्थामा प्राधिकरण छ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बिजुली प्रणालीमा जोडिएपछि धेरै सहज महसुस गरेको प्राधिकरणले चैत लागेपछि भने दबाब झेल्नु परेको छ ।

त्यसो त भारतबाट हाल ठूलो परिमाणमा बिजुली आयात गर्नु परेको छैन । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार आवश्यकताका आधारमा ३ सय ५० देखि ४ सय मेगावाट बराबर मात्रै आयात गर्नुपरेको छ ।

निर्माणको चरणमा रहेका आयोजनालाई शीघ्र सम्पन्न गर्नुपर्ने दबाब बढ्दै गएको छ । प्रसारण प्रणाली तथा अन्य प्राविधिक तयारी भए चालु आर्थिक बर्षको अन्त्यसम्ममा नै प्रणालीमा १ सय ५० देखि २ सय मेगावाट बिजुली थप हुन सक्ने सम्भावना छ ।

त्यसका लागि सरकारले निजी ऊर्जा उद्यमीलाई पनि प्रेरित गर्नुपर्ने दायित्व हुनजान्छ । त्यसो त आगामी असारदेखि नेपालको प्रणालीमा उपलब्ध हुने बिजुली नै खेर जाने अवस्था आउनेछ ।