१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


मोरङमा हुलाकी राजमार्ग : बजेट ८० प्रतिशत सकिँदा काम २० प्रतिशत मात्र


117
Shares

काठमाडौं । मोरङमा हुलाकी राजमार्ग निर्माणको काम निकै सुस्त गतिमा भइरहेको छ । हुलाकी सडक निर्माणमा ढिलाइ हुँदा जनताले सास्ती पाएका छन् ।

निर्माण व्यवसायीको हेलचेक्याइँले सडक अलपत्र परेको हो । सडक निर्माण योजनामा ढिलासुस्ती हुँदा यहाँका नागरिक निराश बनेका छन् । अहिलेसम्म सो सडकको भौतिक प्रगति २० प्रतिशत मात्र भएको बताइएको छ ।

मोरङको रतुवाखोलादेखि विराटनगर महानगरपालिकाको केशलिया खोलासम्मको ४४ किलोमिटर हुलाकी राजमार्गको प्रगति दुई वर्ष पाँच महिनामा २० प्रतिशत मात्र पुगेको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो आयोजना निर्माणका लागि प्राप्त बजेटमध्ये ८० प्रतिशत खर्च भइसकेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले जनाएको छ ।

२०७६ कात्तिकमा चार लेन सडक निर्माण गर्ने ठेक्का समझौता भएको थियो । आयोजनाको निर्माण कार्य २०७९ कात्तिक २३ गतेभित्र सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ ।

मोरङको ४४ किलोमिटरमध्ये अहिलेसम्म चार दशमलव पाँच किलोमिटर मात्र कालोपत्र भएको छ भने सडकको दायाँबायाँ नाला निर्माण गर्ने काम भइरहेको छ ।

बजेटको अभावमा कामले गति लिन नसकेको योजना प्रमुख विजयकुमार थापाले बताउनुभयो । सुक्खा याममा धुलाम्मे तथा सामान्य पानी पर्दा पैदलसमेत हिँड्न नसक्ने गरी सडक हिलाम्मे हुने गरेको छ ।

पूर्व–पश्चिम राजमार्गको वैकल्पिक सडकका रुपमा रहेको मोरङको हुलाकी सडकमा पाँचवटा निर्माण कम्पनीले काम गरिरहेका छन् ।