२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


नेपाली कांग्रेस कमजोर फिरादी, प्रचण्डको सपना चकनाचुर हुन्छ : महेश बस्नेत


169
Shares

पर्वत । नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य तथा पूर्व मन्त्री महेश बस्नेतले नेपाली कांग्रेस कमजोर फिरादी बनेको बताउनुभएको छ ।

दक्षिण पर्वतको विहादी गाउँपालिकामा राष्ट्रिय युवा संघको प्रथम गाउँपालिका अधिवेशनको शनिबार उद्घाटन गर्दै बस्नेतले उहाँले यस्तो बताउनुभएको हो ।

‘जसरी अदालतमा कमजोर फिरादीले धेरै साक्षी राख्छ, त्यस्तै नेपाली कांग्रेस पनि एक्लै निर्वाचनमा जान डराएर गठबन्धन बनाएर जान लागेको छ,’ उहाँले भन्नुभयो, ‘एमालेको मुख्य प्रतिस्पर्धी पार्टी कांग्रेस नै हो, हामीले स्वच्छ प्रतिस्पर्धा गर्न चाहेका छौं ।’

एमाले कसैलाई साथ नलिइ अघि बढ्न सक्ने दाबी गर्दै बस्नेतले कांग्रेसले कम्युनिष्ट भनाउँदा दलहरूसँग अपवित्र सहकार्य गरेर एमालेलाई परास्त गर्न खोजेको आरोप लगाउनुभयो । यद्यपि कांग्रेसको जोर नचल्ने उहाँको दाबी छ ।

नेता बस्नेतले माओवादी र प्रचण्डको सपना चकनाचुर हुने पनि बताउनुभयो । प्रचण्डले एमालेको साथ लागेर आएको धेरै सिट देखाएर ब्लाकमेलिङ गरेको भन्दै उहाँले अबको निर्वाचनपछि उनीहरूका सपना चकनाचुर हुने दाबी गर्नुभयो ।

‘एमालेकै कारण प्रचण्डका ५३ सिट आए, माधव नेपालले पार्टीलाई टुक्राएर लगेर अहिले कांग्रेससँग टाँसिएर फुर्ति लगाउँदै हिडेका छन्,’ उहाँले भन्नुभयो, ‘खोलो तरेर लौरो बिर्सनेहरूले अर्को खोला आउँछ भन्ने हेक्का राख्नू ।’

नेता बस्नेतले अबको स्थानीय तहको निर्वाचनमा अघिल्लो पटकभन्दा बढि तहमा एमालेले विजयी हुने भन्दै त्यसका लागि तल्लो तहसम्म पुगेर पार्टीको प्रचार गर्न कार्यकर्तालाई निर्देशन समेत दिनुभयो ।

पोलिटव्यूरो सदस्य बस्नेतले आजै पर्वतको फलेवास नगरपालिकामा राष्ट्रिय युवा संघको नगर अधिवेशन समेत उद्घाटन गर्नुभएको थियो ।