१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


चिनियाँ विदेशमन्त्री यी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण

260
Shares

काठमाडौं । तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटर पुगेर उहाँले प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटवार्ता गर्नुभएको हो । भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटकै क्रममा विदेशमन्त्री वाङ यीले चीनको सहयोगमा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भर्चुअल समापन गर्दै नेपाललाई हस्तान्तरण गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

चीनको एक्जिम बैंकले २ प्रतिशत ब्याजदर कायम गरी पोखरा विमानस्थल बनाउन नेपाललाई २१ अर्ब ६० करोड रुपैयाँ ऋण दिएको थियो । विमानस्थलको हालसम्म ९३ प्रतिशत काम सकिएको छ । 

शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा नेपाल र चीनको विदेशमन्त्री स्तरीय बैठक सम्पन्न भएको थियो । जसमा दुई देशबीच विभिन्न ९ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

चिनियाँ विदशेमन्त्रीले आइतबार विहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नुहुनेछ । त्यसपछि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नुहुनेछ ।
उहाँ आइतबार दिउँसो स्वदेश फर्कने कार्यक्रम छ ।