१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


महिला आयोगकी अध्यक्ष पराजुलीविरुद्ध अख्तियारमा उजुरी

ज्येष्ठ नागरिक संरक्षण केन्द्र निर्माणमै अनियमितता

273
Shares

काठमाडौं । राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमलाकुमारी पराजुलीविरुद्ध करोडौ रुपैयाँ हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उहाँमाथि ज्येष्ठ नागरिक संरक्षण केन्द्र निर्माण गर्न सरकारले उपलब्ध गराएको २१ रोपनी जग्गामा ६ करोड सरकारी अनुदान लिएर समयमै काम सम्पन्न नगरेको आरोप लागेको हो ।

कमलाकुमारी पराजुली अध्यक्ष रहेको संकल्प नेपाल नामको संस्थामार्फत काठमाडौको शंकरापुर नगरपालिकामा ज्येष्ठ नागरिक भवन बनाउन पटक पटक गरी सरकारबाट ६ करोड १ लाख रुपैयाँ प्राप्त गरेको उक्त संस्थाले २०७२ साल माघ ८ गते महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयलाई पठाएको चलानी नम्बर १ सय ७४ को पत्रले पुष्टि गरेको छ । उक्त पत्र अनुसार आर्थिक वर्ष ०७१/०७२ मा दुई करोड दश लाख र पछिल्लो आर्थिक वर्ष ०७२/०७३ मा रु. तीन करोड गरी दुई पटक रकम निकासा भएको थियो ।

तर निर्माण शुरु भएको ६ वर्ष वित्दा पनि भवन अत्यन्त जीर्ण र लथालिंग अवस्थामा छ । निर्माण नहुँदै भवन पानी चुहिएर भत्कने स्थितिमा पुगेको छ । प्राविधिक दृष्टिले पनि बनेको संरचना काम लाग्ने अवस्थामा छैन ।

सरकारबाट प्राप्त रकमको सदुपयोग नभएपछि इन्द्रायणीका बासिन्दा आक्रोशित छन् । सरकारी जग्गामा गाउँको विकास हुनु सट्टा संरचना नै काम नलाग्ने भएपछि स्थानीयमा गुनासो बढेको हो । उनीहरुले अनुसन्धान गरी सत्यतथ्य अगाडि ल्याउन माग गरेका छन् ।

गाउँलेको प्रतिनिधित्व गर्दै भीमबहादुर लामाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरण विभागमा उजुरी दर्ता गराएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रवक्ता श्यामकुमार भण्डारीले उजुरीमाथि छानवीन भइरहेको जानकारी दिनुभयो ।

सरकारी सम्पत्ति अपचलन गरेको आरोप आफूमाथि लागेको बारे आयोग अध्यक्ष पराजुली अनियमितता प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार रहेको बताउनुहुन्छ ।

सरकारी सम्पति संरक्षण गर्ने काम सरकारी दायित्व अन्तर्गत पर्छ । ज्येष्ठ नागरिकका नाममा जनताको करबाट उठाइएको कोषका विषयमा उठेका प्रश्नको निराकरणमा तालुकदार निकायको सक्रियता आवश्यक छ ।