
पाल्पा । पढ्ने इच्छा भएका तर आर्थिक अभावका कारण पढ्न नपाएका बालिकाहरुलाई लक्षित गरेर पाल्पाको तानसेन नगरपालिकाले छोरी शिक्षा कार्यक्रम लागू गरेको छ । दलित, जनजाति, अल्पसंख्यक तथा आर्थिक अवस्थामा कमजोर भएका अन्य समुदायका छात्राहरुलाई आधारभुत तहदेखि माध्यमिक तहसम्म पठन पाठनका लागि छोरी शिक्षा कार्यक्रम लागु गरिएको हो ।
चालु आर्थिक वर्षबाट सुरू भएको कार्यक्रममा कक्षा ८ मा ७० जना, कक्षा ९ मा ७० जना र कक्षा १० मा ७० जना गरी २ सय १० जना छोरीहरुलाई तानसेन नगरपालिकाले छोरी शिक्षा कार्यक्रममा समावेश गरेको छ । तानसेन नगरपालिकाले १४ वटा वडाहरुबाट पाँच पाँच जनाका दरले छोरी शिक्षा छात्रवृत्तिका लागि सहयोग गर्दै आएको छ । प्रत्येक वडाबाट जनजाति दुई, दलित दुई र अन्य एक जना गरी पाँच जना छोरीहरु छात्रबृत्ति कार्यक्रममा समावेश भएका छन् ।
तानसेन नगरपालिकाले छोरी शिक्षा छात्रवृत्तिमा सहभागी प्रत्येक छात्रालाई अध्ययन तथा शैक्षिक सामाग्रीका लागि मासिक रुपमा एक हजार रुपैयाँ सहयोग दिँदै आएको छ । तानसेन नगरपालिकाले छोरी शिक्षा कार्यक्रममा छनौट भएका छात्रालाई ६ महिनाको ६ हजार रुपैयाँ छात्रवृत्रि वितरण गरेको छ । संविधानले प्रदान गरेको अधिकार सुनिश्चित गर्न छोरीको शिक्षा, रोजगारी र सभ्य समाज निर्माणका लागि नगरपालिकाले दिर्घकालीन सोचका साथ छोरी शिक्षा कार्यक्रम लागु गरेको नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले बताउनुभयो ।
तानसेन नगरपालिकाले दिएको छात्रबृत्ति रकमले पढाईप्रति थप हौसला बढेको र आवश्यक शैक्षिक सामाग्रीहरुमा मात्र रकम खर्च गर्ने विद्यार्थीहरुले बताएका छन् ।
आर्थिक अभाव तथा रुढीवादी मान्यताका कारण आफू पढ्न नपाए पनि छोराछोरीलाई राम्रोसँग पढाउने तानसेन दमकडाकी बबिता परियारको भनाइ छ । तानसेन नगरपालिकको छोरी शिक्षा कार्यक्रमले छोरीलाई स्नातकोत्तर तहसम्म पढाएर समाज परिवर्तनमा लगाउने परियारको अपेक्षा छ ।
तानसेन नगरपालिकाले लागु गरेको छोरी शिक्षा कार्यक्रमले आर्थिक अभावका कारण कक्षा छोड्ने प्रवृत्ति न्युनिकरण हुनेछ भने दलित तथा जनजातिमा शिक्षित महिलाको संख्या बढ्दै जाने र उनीहरु पनि अन्य जातजातिका महिला सरह सक्षम भई समाज रुपान्तरणको महत्वपूर्ण हिस्सा बन्ने छन् ।
प्रतिक्रिया दिनुहोस्