१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


वैदेशिक रोजगारीमा जाँदा मृत्यु र अङ्गभङ्गको क्षतिपूर्तिसम्बन्धी सेवा अनलाइनबाटै

विदेशबाट फर्किएर पुनः सोही कामका लागि जानेहरूले पुनः अभिमुखीकरण लिनुनपर्ने

195
Shares

काठमाडौं । वैदेशिक रोजगार बोर्डले विदेशमा मृत्यु र अङ्गभङ्ग भएका श्रमिकका परिवारलाई दिइने क्षतिपूर्ति सम्बन्धी सेवा अनलाइन प्रणाली मार्फत दिने भएको छ ।

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको सेवा प्रवाह थप प्रभावकारी बनाउनका लागि विभागबाट दिने आर्थिक सहायता लगायत अन्य सेवा अनलाइनबाट सुरु गरिएको बताउनुभएको हो ।

आर्थिक सहायता वा क्षतिपूर्तिका लागि स्थानीय तहबाट नै अनलाइन मार्फत निवेदन दिन सकिने व्यवस्था गरिएको हो । मन्त्री श्रेष्ठले एकपटक वैदेशिक रोजगारमा गएर फर्किएकाहरूले फेरि विदेश जाँदा अभिमुखीकरण तालिमको कक्षा लिनु नपर्ने व्यवस्था गरेको बताउनुभयो ।

अहिले नयाँ श्रम स्वीकृति लिएर जाने जोसुकैले पनि अभिमुखीकरण लिनुपर्ने व्यवस्था थियो । उहाँले विदेश गएर फर्किएका र उही काममा विदेश जानेहरूले फेरि अभिमुखीकरण लिनुपर्ने बाध्यात्मक व्यवस्था आजबाट नै हटाएको जानकारी दिनुभयो ।

बोर्डमार्फत क्षतिपूर्ति लिन अनलाइनबाटै आवेदन दिएर सिधै बैंक खातामा भुक्तानी लिन सकिने व्यवस्था लागू भएको भन्दै मन्त्री श्रेष्ठले पीडित श्रमिक र उनीहरूको परिवारलाई क्षतिपूर्ति र बीमा रकम पाउन सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

यस्तै मन्त्री श्रेष्ठले मेनपावरहरूले वैदेशिक रोजगारीमा जाने श्रमिहरुलाई ठगी गरेको वा दुख दिएको थाहा पाए तत्काल कडा कारबाही गरिने बताउनुभयो । उहाँले अहिले ३५ वटा मेनपावर कम्पनीहरूमाथि अनुसन्धान गरिरहेको पनि जानकारी दिनुभयो ।
सरकार श्रमिकको लागि श्रम अस्पताल खोल्ने तयारीमा लागेको पनि मन्त्री श्रेष्ठले बताउनुभयो । उहाँले विदेशीमा घरको काम गर्न गएका महिलाहरू पुनः त्यही काममा जान नपाउने व्यवस्थालाई परिमार्जन गरेर त्यही कामको लागि जान श्रमस्वीकृति दिने व्यवस्था गरिएको बताउनुभयो ।