२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालको विजयी सुरुवात


234
Shares

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा घरेलु टोली नेपालले विजयी सुरुवात गरेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आज भएको खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई १५ रनले हराउँदै नेपालले सिरिजमा सुखद सुरुवात गरेको हो ।

जितसँगै नेपालले पीएनजीविरुद्ध एकदिवसीय सिरिजमा व्यहोरेको हारको बदला समेत लिएको छ ।

नेपालले दुई खेलको एकदिवसीय सिरिज २–० ले गुमाएको थियो । नेपालले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको पीएनजीले १९ ओभर २ बलमा अलआउट हुँदै १ सय ६८ रन मात्र बनाउन सक्यो ।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८३ रन बनाएको थियो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ४३ रन बनाए ।

पीएनजीका चार्ल्स अमिनी, अलेइ नाओ र चाड सोपरले २/२ विकेट लिए । नोरमान भानुअ र रिले हेकुरेले १÷१ विकेट हात पारे ।

अब नेपालले दोस्रो खेलमा बुधबार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । सिरिजमा नेपाल, पीएनजी र मलेसियाको सहभागिता रहेको छ । सिरिज अन्तर्गत नेपालले पीएनजी र मलेसियाविरुद्ध दुई–दुई खेल खेल्नेछ ।