
काठमाडौं । सङ्खुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्गको छयाङकुटी–पुखुवा सडकखण्ड सात दिनदेखि अवरुद्ध भएको छ ।
प्रवेशमार्गको छयाङकुटी–पुखुवा सडकखण्डका स्थानीयले मुआब्जा नपाएको भन्दै अनिश्चितकालीन सडक बन्द गरेर सात दिनदेखि आन्दोलनमा उत्रिएको संघर्ष समितिका अध्यक्ष हर्कसिंह राईले जानकारी दिनुभयो ।
प्रवेशमार्ग छयाङकुटी–पुखुवा सडकखण्डको मुआब्जा तीन वर्ष बित्दासमेत नपाएपछि बाध्य भएर प्रवेशमार्ग र आयोजनाको पावरहाउसको काम अवरुद्ध बनाएको अध्यक्ष राईले बताउनुभयो ।
पहिले १५ मिटरको मुआब्जा दिएर आयोजनाले अहिले ३० मिटर जग्गा अधिग्रहण गरेको अध्यक्ष राईको भनाइ छ ।
अरुण तेस्रो परियोजनाको करिब ५० प्रतिशतमाथि काम भइसक्दा पनि मुआब्जा नपाएपछि स्थानीयवासीले चैत ८ गतेदेखि आन्दोलन थालेका हुन् ।
सरकारी मूल्यअनुसार मुआब्जाको रकम नदिएपछि स्थानीयवासीले सडक र काम ठप्प बनाएका हुन् । यस क्षेत्रका २ सय परिवारले मुआब्जा नपाएको पीडितहरूको गुनासो छ ।
प्रतिक्रिया दिनुहोस्