
बारा । साविक विजेता संकटा क्लबमाथि रोमाञ्चक जित हात पार्दै बागमती युवा क्लब जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सिमरा रंगशालमा मंगलबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा बागमतीले संकटामाथि १–० को जित निकालेको हो ।
बागमतीको जितसँगै गोल्डकपको सेमिफाइनलको समिकरण पूरा भएको छ ।
बागमतीले अब फाइनल प्रवेशका लागि विभागिय टिम एपिएफ क्लबसँग खेल्नेछ । हिमालयन शेर्पालाई पराजित गर्दै एपिएफ क्लब यसअघि नै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
प्रतिस्पर्धात्मक भिडन्तमा बागमती संकटामाथि अतिरिक्त समयमा गोल गर्दै जित निकालेको हो । निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
अतिरिक्त समयको २७ औं मिनेटमा बागमतीका लागि अनिल रानाले गोल गरेका हुन् । डिना गुरुङले प्रहार गरेको फ्रिकिक बलमा अनिलले टिमका लागि निर्णायक गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच बागमतीका अभिशेष वाईवा घोषित भए ।
प्रतियोगिता अन्तर्गत आज एनआरटी क्लब र आयोजक नव जनजागृति युवा क्लबबीच पहिलो सेमिफाइनल खेल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्