५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


श्रमजीवि पत्रकारको दुर्घटना बीमा अहिलेसम्म कार्यान्वयन नहुनु दुःखद भएको स्वास्थ्यमन्त्रीको भनाई


117
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले सरकारले स्वास्थ्य बिमाको दायरामा सबै नेपाली आउन सके स्वास्थ्योपचारमा सहजता हुने बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवसको अवसरमा मन्त्री खतिवडाले पत्रकारको उपचारका लागि स्वास्थ्य मन्त्रालय, सञ्चार मन्त्रालय र नेपाल पत्रकार महासंघबीच समन्वय र सहकार्य गरेर अघि बढ्न सकारात्मक रहेको पनि बताउनुभयो ।

मन्त्री खतिवडाले श्रमजिवी पत्रकारको लागि ७ लाख रुपैयाँसम्मको दुर्घटना बिमा यसअघिको बजेटमा ल्याइएको भएपनि अहिलेसम्म कार्यान्वयन नहुनुले चिन्तित बनाएको बताउनुभयो । उहाँले पत्रकारका हकहितका लागि उचित प्रस्ताव लिएर मन्त्रालयमा आउन पनि महासंघलाई आग्रह गर्नुभएको छ ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पत्रकारको उपचारका लागि छुट्टै अस्पताल बनाएर निःशुल्क स्वास्थ्य सेवा दिँदा सरकारको सबै नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने लक्ष्यमा पुग्ने बताउनुभयो । उहाँले बजेट भाषणमा निःशुल्क उपचारको कुरा आए पनि बजेट नछुट्याउँदा अझै पत्रकारले स्वास्थ्य सेवा नपाएको गुनासो गर्नुभयो ।

नेपाल पत्रकार महासंघले स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम एवं प्रभातफेरी कार्यक्रम गरेर ६७ औँ स्थापना दिवस मनाएको छ । यस अवसरमा केन्द्रीय समितिले काठमाडौंको सिनामंगलदेखि सञ्चारग्रामसम्म बिहान प्रभातफेरी, रक्तदान र निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।