२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


एनआरटी सिमरा गोल्डकपको फाइनलमा


104
Shares

बारा । आयोजक नव जनजागृति युवा क्लबलाई स्तब्ध पार्दै न्युरोड टिम (एनआरटी) जीतपुर सिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

सिमरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक जनजागृतिलाई ३–२ ले पन्छाउँदै एनआरटी फाइनलमा प्रवेश गरेको हो ।

एनआरटीलाई उपाधि होडमा उभ्याउने क्रममा स्टेफन समिरले दुई र मेसुके ओलोमाईले एक गोल गरे । आयोजकका लागि आयुश घलान र एलन थापाले समान एक–एक गोल गरेका थिए ।

घरेलु मैदानमा स्तब्ध आयोजकले एनआरटीविरुद्ध आकर्षक सुरुवात गरेपनि सम्हालिन नसक्दा प्रतियोगिताबाट बाहिरिएको हो ।

पाँचौं संस्करणको विजेता समेत रहेको आयोजकले खेलको सुरुवातमै बनाएको केही अवसर गुमाउन पुग्दा खेलमा एनआरटी हावी हुन पुग्यो । आयोजकबाट खेलेका स्टार खेलाडी डोना थापाले इन्जुरी समयमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । वादविवाद गरेको भन्दै रेफ्री नविन्द्र महर्जनले डोनालाई रातो कार्ड देखाएका हुन् ।

एनआरटीको जितमा महत्वपूर्ण दुई गोल गरेका स्टेफन समिर खेलको म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत आज बिहीबार विभागिय टिम एपिएफ क्लब र बागमती युवा क्लबबीच दोस्रो सेमिफाइनल खेल हुनेछ ।